सुन तस्करीमा पूर्व सभामुख महरालाई मुद्दा चलाउन सिफारिस


२०८० चैत २ शुक्रबार १०:३७ बजे

काठमाडौँ । सुन तस्करीमा संलग्न रहेको आरोपमा सत्तारुढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्व सभामुख समेत रहेका महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

आयोगले हिजो (बिहीबार) उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । इलेक्ट्रिक चुरोट ‘भेप ’मा भेपमार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ । पूर्व सभामुख महरालाई फेरि अनुसन्धान गरेर मुद्दा चलाउन आयोगले सिफारिस गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले जानकारी दिएका छन् ।
६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट काठमाडौँमा सुन तस्करी भएको थियो । असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो ।

पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठन भएको समितिमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज सदस्य थिए । करिब साढे ५ महिनापछि बुझाएको प्रतिवेदनमा महरालाई दोषी किटान गरिएको छ । महरालाई आयोगले बयान समेत लिएको थियो ।

उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार प्रतिवेदन बुझ्दै यसमा समावेश विषयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीबाट गम्भीर त्रुटि भएको समेत बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७