सीआइबी प्रमुख बज्राचार्यलाई विभागीय कारबाही सिफारिस


२ चैत्र २०८०, शुक्रबार
kiran bajracharya

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यमाथि कारबाही सिफारिस भएको छ । सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर गर्दै सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाही सिफारिस गरेको हो ।

प्रहरीकै पूर्व उच्च अधिकारीका साथै राजनीतिक दलका नेतालगायतलाई उन्मुक्ति दिएको छानबिन समितिले देखाएको गृह मन्त्रालय स्रोत बताउँछ । आयोगको सिफारिससँगै बज्राचार्यमाथि विभागीय कारबाहीको प्रक्रिया अघि बढ्ने बताइएको छ । यता उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा संलग्नहरूलाई जोगाउने गरी फितलो अनुसन्धान गरिएको निष्कर्ष निकालेका छन् । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बिहीबार प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदन बुझेलगत्तै उपप्रधान तथा गृहमन्त्री लामिछानेले साढे दुई घण्टा लगाएर अध्ययन गरेका थिए । प्रतिवेदन अध्ययन गर्दा सुन तस्करीमा संलग्न मुख्य अभियुक्तहरूलाई नै बचाउने गरी अनुसन्धान गरिएको र गम्भीर त्रुटि देखिएको गृहमन्त्री लामिछानेले प्रतिक्रिया दिएका छन् । ‘अनुसन्धानमा ठूलो ‘ग्याप’ देखिएको छ । क–कसलाई बचाउन खोजिएको छ, त्यसबारे म बुझ्दैछु । बचाउन प्रष्टै खोजिएको छ,’ गृहमन्त्री लामिछानेले भनेका छन् ।

अभियुक्तहरूबाट बयान लिएको कागज समेत च्यातचुत पारेर प्रमाण नष्ट गर्ने कोशिस भएको पाइएको उनले बताएका छन् । ‘अनुसन्धानमा संलग्न उच्च अधिकारीहरूले बयान नष्ट गराउने र मुख्य अभियुक्तहरूलाई नै बचाउन खोजिनु गम्भीर लापरवाही हो,’ उनले भने, ‘यसबारे म छलफल गर्दैछु । आजै गृहसचिव, आइजिपी (प्रहरी प्रमुख) सहितको बैठक बोलाएको छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७