बाँसबारी जग्गा प्रकरण : सांसद विनोद चौधरीको बयान लिन गृहमन्त्री लामिछानेको निर्देशन


४ चैत्र २०८०, आईतवार
binod
अर्बपति व्यापारी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी। तस्वीर : फाइल

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बाँसबारी छालाजुत्ता कारखाना प्रकरणमा अर्बपति व्यापारी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान लिने भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका छन् ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर र नेपाल प्रहरकी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख श्याम ज्ञवालीलाई उक्त निर्देशन दिएका हुन् । गृहमन्त्री लामिछानेका प्रेस संयोजक प्रमोद न्यौपानेका अनुसार निर्देशनपछि चौधरीको बयान लिइने भएको छ ।

‘उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार माहतल ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिन ुभएको छ । सो का लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने भएको छ,’ न्यौपानेले जानकारी दिए । यसअघि सिआइबीले जग्गा हिनामिना प्रकरणमा अरुण चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण थापा र च्याम्पियन फुटवेयर प्रालि /सिजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक ४५ वर्षीय सञ्जय ठाकुर पक्राउ गरेको थियो ।

सरकारी कागजातअनुसार अरुण चौधरी र उनकी पत्नी शिला चौधरीको नाममा रहेको उक्त १० रोपनी जग्गामा हाल चााँदबाग स्कुल सञ्चालनमा भइरहेको छ । गृहमन्त्री लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७