तेह्रथुम फेदापमा भीषण आगलागी, कम्तीमा १९ घर जले, उदयपुरमा पनि तीन घर जल्यो

भोजपुर टक्सारको आगलागीबाट एक करोडको क्षति


४ चैत्र २०८०, आईतवार
fedap house

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–१ मा जङ्गलको डढेलो गाउँ पस्दा कम्तीमा १९ वटा घर जलेका खरानी भएका छन् । तीन वटा टोलमा आगलागी भएको वडाअध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिए । मध्यान्हबाट शुरू भएको भीषण आगो पिप्ले, रातमाटेलगायतका क्षेत्रमा फैलिएको थियो । वडा अध्यक्ष श्रेष्ठका अनुसार अहिलेसम्म कुनै पनि मानवीय क्षति भने भएको छैन । तर आगो नियन्त्रणभन्दा बाहिर रहेको उनले जानकारी दिएका छन् । आगो निभाउनका लागि स्थानीय र प्रहरीले प्रयास गरिरहेका छन् । पानी अभावका कारण नियन्त्रणमा समस्या भएको वडा अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ ।

आगलागीबाट तीन घर जलेर नष्ट
उदयपुर । उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–३ भोर्लेनीको नवउदय सामुदायिक वनमा शनिबार आगलागी भएको थियो । उक्त आगो भोर्लेनी गाउँमा प्रवेश गर्दा तीन घर र तीन गोठ जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार नवउदय सामुदायिक वनमा लागेको आगो नजिकैको गाउँमा हावाहुरीले ल्याएपछि भोर्लेनीका गाउन राई, मनकुमारी राई, जगतबहादुर राई, मदन राई, गोविन्द नेपाली र रामबहादुर राईको तीन घर र तीन गोठ जलेर नष्ट भएको छ ।

आगलागीका कारण घरमा भएका सबै अन्न, लत्ताकपडा र नगदसहित सुनचाँदी सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए । उनका अनुसार आगलागीबाट करिब ४६ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सामुदायिक वनको आगो गाउँमा प्रवेश गरेपछि प्रहरीको टोली र स्थानीयवासी मिलेर शनिबार रातिसम्ममा आगो नियन्त्रणमा लिइएको प्रनाउ चौधरीले बताए ।

आगलागीबाट एक करोडको क्षति
भोजपुर नगरपालिका–१२, टक्सारको मालबाँसेमा आगलागीबाट रु एक कारोड तीन लाख बराबरको क्षति भएको छ । शनिबार दिउँसो वनमा लागेको डढेलो बस्तीमा आइपुग्दा स्थानीयवासीका सात घर र १० गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईका अनुसार आगलागीबाट स्थानीय कमल कार्कीको दुई तले घर, नरबहादुर कार्कीको दुई तले घर र गोठ, पदम कार्कीको दुई तले घर र एक गोठ, विशाल कार्कीको दुई तले घर र गोठ, गजेन्द्र कार्कीको दुई तले घर र गोठ तथा मीना श्रेष्ठ र कृष्ण बस्नेतको घर जलेर नष्ट भएको छ ।

यस्तै आगलागीबाट अन्य केही स्थानीयको पनि गोठ जलेर नष्ट भएको सूचना अधिकारी राईले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७