बाबुराम पक्षको निष्कर्ष : माओवादीसँगकाे एकता सहमति खारेज, महिन्द्र यादव सत्ता स्वार्थमा


४ चैत्र २०८०, आईतवार
baburam 1

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठकले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने सहमति खारेज गरेको छ ।

डा. बाबुराम भट्टराईको अध्यक्षतामा आज (आइतबार) बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले माओवादीसँग एकता गर्ने सहमति खारेज गरेको केन्द्रीय कार्यकारिणी समिति सदस्य कृष्ण शर्माले जानकारी दिए । नेता शर्माले भने, ‘दुई तिहाई केन्द्रीय सदस्यहरूको बैठकले माओवादीसँगको एकता गर्ने सहमति खारेज गरेको छ ।’

नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षले शनिबार माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेको थियो । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित दुवै पक्षका नेताहरूको बैठकले एकताका लागि चार बुँदे सहमति गरेको थियो । सहमति गर्दाको बैठकमा अध्यक्ष भट्टराई भने सहभागी थिएनन् । आज अध्यक्ष भट्टराईले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । बैठकमा २० जना केन्द्रीय सदस्य सहभागी थिए ।

नेसपाका केन्द्रीय कार्यकारिणी समितिमा अहिले ३० जना छन् । आजको बैठकमा भने अर्का अध्यक्ष यादव पक्षका केन्द्रीय सदस्य सहभागी भएनन् । आइतबारको बैठकले सहमतिलाई खारेज गरेको छ भने थप निर्णय गर्न सोमबार बैठक बस्ने भएको छ । सोमबारको बैठकमा सहभागी नहुने केन्द्रीय सदस्यलाई पदमुक्त गरिने शर्माले बताए ।

पार्टीको विधि तोडेर सत्ता समीकरणको खेलमा यादवसहितका नेता लागेकाले माओवादीसँगको एकताको विज्ञप्ति खारेज गरिएको र यससम्बन्धी भोलिको केन्द्रीय समिति बैठकले थप निर्णय गर्ने कार्यकारिणी सदस्य कृष्ण शर्माले बताए । ‘जनयुद्धको विरासत बोकेर आउन’ भएका साथीहरू नेसपामा हुनुहुन्छ । कुर्सीको खेलमा नलाग्ने र देशको अग्रगमनका लागि कार्ययोजनासहित अघि बढ्ने भएका छौं’, शर्माले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७