बच्चा चोरीको आरोप लागेकी महिलालाई एक लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश

मनकुमारीको बयान : पटक–पटक गर्भ खेर गएपछि ‘डिप्रेसन’ मा छु


४ चैत्र २०८०, आईतवार
bachaa

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरीको आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छोड्न आदेश दिएको छ । दैलेखको नौमुले घर भएकी सिंहलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजालसले एक लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

गत फागुन ११ गते प्रसुति गृहबाट २६ दिने बालिका चोरी गरेको आरोपमा पक्राउ परेकी सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अपहरण तथा शरीर बन्धक कसुरको अभियोगपत्र दायर गरेको थियो । सिंहले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने सबिना श्रेष्ठको २६ दिने बच्च चोरेकी थिइन् । थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोप लागेकी मनकुमारी सिंहले आफू डिप्रेसनको बिरामी भएको र कसैलाई नभेटेपछि होश गुमेर बच्चा घर लिएर जान पुगेको बयान दिएकी छन् ।
यस्तो छ सिंहको बयान

मैले विवाह गरेको ३ वर्ष जति भयो । आज भन्दा करिब २ वर्ष अगाडि मेरो ८ महिनाको गर्भ खेर गएको थियो । मेरो गर्भ खेर गएपछि म डिप्रेसनमा गएँ । त्यसपछि मलाई मान्छेहरूको भिडभाड देख्नासाथ दिमागले काम नगर्ने, झिझ्याट महसुस हुने र आफू कहाँ छु ? कोसँग छु ? के गर्दै छु भन्ने कुरा समेत याद नहुने भएपछि मेरो परिवारले काठमाडौँ गएर डिप्रेसनको औषधी गराउनु भनेर श्रीमानसँग पठाएको थियो तर मैले अस्पताल गएर भने चेकजाँच गरिन ।

मेरो बेला बेलामा २-३ महिना जति गर्भ बस्ने र २-३ महिना पछि गर्भ खेरा जाने गर्दै आएकाले मलाई ज्योतिष शास्त्रमा विश्वास रहेको हुँदा आज भन्दा करिब ८ महिना अगाडी मैले ज्योतिषीलाई पनि देखाएको थिएँ । ज्योतिषीले मलाई नानी अब तिम्रो बच्चा रहन्छ भनी झारफुक पनि गरेको थियो । त्यसपछि मेरो रक्तस्राव रोकिएको थियो । वारदात (घटना) हुनु भन्दा करिब ४–५ दिन अगाडि मेरो फेरि रक्तस्राव हुन थाल्यो ।

मैले मेरो श्रीमानसँग कुराकानी गरी थापाथली प्रसूतिगृहमा चेकजाँच गराउने कुरा गरी मिति २०८०। ११। १० गते प्रसूतिगृहमा आई चेकजाँच गराई परीक्षणका लागी रगत दिएको थिएँ । अस्पतालले मलाई फागुन ११ गते रिपोर्ट लिन बोलाएको थियो । त्यसैले म र मेरो श्रीमान् भई फागुन ११ गते अस्पताल आएका थियौँ । अस्पताल आएकोमा त्यहाँ रिपोर्ट लिने ठाउँ बन्द भएको थियो । रिपोर्ट लिने ठाउँमा श्रीमानलाई जान नदिने भएकोले श्रीमान् पहिले नै तलै बस्नु भएको थियो भने म माथि गएको थिएँ । रिपोर्ट लिने ठाउँ बन्द भएकोले म तल आई श्रीमानलाई खोज्दा श्रीमान् नभेटिएपछि म यताउता हेर्दै हिँड्ने क्रममा जाहेरवालाको श्रीमतीले भुईँमा म्याट राखेको ठाउँमा बच्चा बोकेर बसी रहेको ठाउँमा संजोकबस म पनि पुगेँ ।

निज जाहेरवालाको श्रीमतीले एक्कासि आफूसँगै बसेकी जेठानी दिदीलाई, माथि दिदी रिपोर्ट लिन जानु भएको थियो, अझै आउनु भएन भनेको कुरा मैले सुनेँ । त्यसपछि मैले निजलाई, दिदी बच्चा बोकेर गएको भए त, रिपोर्ट छिटै दिन्थ्यो होला नि भनेपछि निजले मलाई बच्चा समाउनु भन्नु भयो । मैले पनि बच्चा समाएँ । त्यसपछि निज जाहेरवालाको श्रीमतीले आफ्नो बच्चाले पिसाब फेरेको कपडा र दिशा गरेको डाइपर बोक्नु भयो ।

हामीसँग सँगै हिँडी रहेका थियौँ, एक्कासि जाहेरवालाको श्रीमतीले बच्चाले दिशा गरेको डाइपर फाल्न साइट तिर जानु भएछ । मैले सोचेकी उहाँ मेरो पछाडि हुनु हुन्छ भनेर तर हाल आएर मलाई थाहा भयो की उहाँ डाइपर फाल्न जानु भएको रहेछ । एक्कासी पछाडि हेर्दा मैले जाहेरवालाको श्रीमतीलाई देखिन र मेरो होश हरायो । फेरि निजले रिपोर्टको कुरा गर्दै गरेको मलाई याद आयो र म रिपोर्ट लिने ठाउँमा जाँदा त्यहाँ मैले निजलाई भेटिन र त्यसपछि म फेरि निजलाई खोज्दा दोस्रो तल्लामा पनि गए तर त्यहाँ पनि मैले निजलाई भेटिन । मैले यताउता खोज्दै हिँड्दा नभेटेपछि फेरी म पहिले भेटेको ठाउँमा गए, त्यहाँ पनि नभेटेपछि मलाई निज जाहेरवालाको श्रीमतीले कस्तो थिइन ? कस्तो कपडा लगाएकी थिइन रु भन्ने कुरा मलाई याद नै भएन र मेरो होस उठ्यो ।

त्यसपछि मेरो दिमागले काम गरेन र मैले बच्चा बोकेर बाहिर हिँडेछु । म, मेरो श्रीमानसँग अस्पतालमा उपचार गर्न सँगै आएको हुँ भन्ने कुराको समेत याद भएन । मैले बच्चा बोकेर कहाँबाट कता गएँ र ट्याक्सी बोकेर गएको कुरा पनि याद छैन र ट्याक्सीलाई पैसा दिएको कुरा पनि याद छैन, मलाई एक्कासी प्रहरीले काँडाघारी चौकीमा लगेर गएपछि झसङ्ग याद आयो ।
मलाई प्रहरीले मेरो कोटाबाट बच्चा सहित ल्याएको कुरा बताएपछि मलाई याद भएको हो । मेरो दिमागले काम नगरेकोले मैले बच्चा बोकेर गएको हो । मैले जानी जानी बच्चालाई अपहरण गरी लगेको होइन र बन्धक बनाएको पनि होइन । मेरो गर्भ बारम्बार बस्ने र खेरा जाने गरेकोले म डिप्रेसनमा गएको छु ।

त्यो दिन पनि निज जाहेरवालाको श्रीमतीले बच्चा दिई सकेपछि हामी दुवै सँगै हिँड्ने क्रममा जाहेरवालाको श्रीमती मेरो पछाडि आएको होलिन् भनेको निज त्यहाँबाट कता गइन गइन, मैले निजलाई खोज्दा खोज्दा नभेट पछि मेरो होस हरायो र मैले म कहाँ गए, कता गएँ र के गरे भन्ने कुरा मलाई यादै छैन, एक्कासी मलाई प्रहरीले प्रहरी कार्यालयमा लिई गएपछि मलाई होस आएको हो । मैले जानी जानी जाहेरवालाको बच्चा बोकी हिँडेको होइन । मैले बिना जानकारी र बिना अनुमति बच्चा लिई जान मिल्दैन थियो, गल्ती भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७