दुष्मनी भएका छिमेकीलाई फसाउन ७० वर्षका हजुरबुवा र १२ वर्षका नातिको हत्या


४ चैत्र २०८०, आईतवार
hat

नवलपरासी । पश्चिम नवलपरासीमा हजुरबुवा र नातिको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । फागुन १ गते बिहान पौने ६ बजे सुस्ता गाउँपालिका–३ मर्चहवास्थित गण्डक बाँधको जग्गामा कुटि बनाएर बसेका हजुरबुवा र नाति मृत भेटिएका थिए । ७० वर्षीय अक्षयलाल चमार र उनका १२ वर्षीय नाति गौचरणमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

उनीहरूको हत्या अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले दुई जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् । पक्राउ पर्नेमा सोही ठाउँका २९ वर्षीय अजयकुमार अधिकार र २० वर्षीय चन्दन हरिजन छन् । उनीहरू दुबै जनालाई सीआइबीले शनिबार पक्राउ गरेको हो ।

घटनाको अनुसन्धानका लागि सीआइबीसँगै जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र इलाका प्रहरी कार्यालय बेलाटारीको टोली पनि खटिएको थियो । पक्राउ परेकामाथि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा बुझाइसकेको छ । सुरूमा हजुरबुवा र नातिको हत्या गर्ने योजना चन्दन र अजयकुमारको थिएन । उनीहरूले अर्कै व्यक्तिको हत्या गर्ने योजना बनाएका थिए ।

प्रहरीका अनुसार चन्दनले मर्चहवामै बस्ने एक जना छिमेकीको मोटरसाइकलमा हिर्काएका थिए । माघ २६ गते मापसे गरी हिँडेका चन्दनले छिमेकीको मोटरसाइकलमा हिर्काएपछि झगडा परेको थियो । त्यही विषयमा इलाका प्रहरी कार्यालय बेलाटारीमा समेत निवेदन परेको थियो । निवेदनपश्चात माघ २८ गते दुई पक्षबीच छलफल समेत भएको थियो ।

त्यही विषयलाई लिएर चन्दनले बदला लिने सोंच बनाएका थिए । त्यसपछि ती छिमेकीको हत्या गर्ने योजना बनाएर त्रिवेणी नाहन मेलाको मौकामा पारेर चन्दनले आफ्ना साथी अजयकुमारलाई भारतबाट चक्कु खरिद गरी ल्याउन लगाएका थिए । माघ २९ गते उनीहरू दुबै जना अक्षयलाल चमारको घर नजिकै पुगेका थिए । त्यहाँ गएर झगडा परेका छिमेकीलाई कुरेर बसे । तर त्यहाँ ती व्यक्ति आएनन् । छिमेकी नआएपछि उनीहरूले योजना नै परिवर्तन गरेको एसपी बोगटीले जानकारी दिए ।

अक्षयलाल चमारको हत्या गर्ने र त्यसको दोष ती व्यक्तिमाथि लगाउने योजना बनाएका थिए । त्यसअनुसार उनीहरूले अक्षयलालको हत्या गरेका थिए । तर त्यही कुटीमा नाति सुतिरहेका थिए । तर घटनाको क्रममा नातिले उनीहरूलाई देखेपछि १२ वर्षीय बालकको समेत हत्या गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरूबाट प्रहरीले चक्कु, पञ्जा, कपडा लगायत बरामद गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७