एनआईएमबीले जित्यो आरआरबीएल–इसान कप फुटसलको उपाधि


५ चैत्र २०८०, सोमबार
RBB

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले तेस्रो संस्करणको आरबीबीएल–इसान कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको आज (सोमबार) को फाइनलमा एनआईएमबीले नेपाल आयल निगमलाई २–० गोलले पराजित गर्‍यो ।एनआईएमबीको जितमा दुवै गोल सुलभ थापाले २ गरे । उपाधिसँगै एनआईएमबीले ५० हजार नगद पुरस्कार पायो । आयल निगमले ३० हजार नगद पुरस्कार प्राप्त गर्‍यो ।

आयल निगम फाइनलमा पराजित भएको यो लगातार दोश्रो पटक हो । दोश्रो संस्करणको फाइनलमा आयल निगम नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पराजित भएको थियो । पहिलो संस्करणको उपाधि एभरेष्ट बैंक लिमिटेडले जितेको थियो । सोल्टीमोडस्थित चैत्य फुटसलमा भएको प्रतियोगितामा नेपाल बैंक लिमिटेड तेश्रो भयो । नेपाल बैंकले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई २–० गोलले हरायो । रञ्जन बराल र सुदीप सुवेदीले समान १–१ गोल गरे । नेपाल बैंकले २० हजार नगद पुरस्कार हात पार्‍यो ।

प्रतियोगिताभर ९ गोल गरेका एनआईएमबीका सुलभ थापा सर्वाधिक गोलकर्ता बने । एनआईएमबीकै सगुनकुमार मोक्तान उत्कृष्ट गोलरक्षक घोषित भए । राष्ट्रिय वाणिज्य बैंकले अनुशासित टिमको उपाधि हात पार्‍यो । विजेतालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, राष्ट्रिय वाणिज्य बैंकका नायब कार्यकारी प्रमुख देवेन्द्ररमन खनाल, इसानका अध्यक्ष रामविनय श्रेष्ठ, तत्कालीन पेस्डानका अध्यक्ष कुलप्रसाद आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने प्रतियोगितामा विभिन्न १६ संस्थाका १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । इसान स्थापना भएपछि संस्थाको यो पहिलो खेलकुद प्रतियोगिता हो । इसानअघि यो संस्था सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को नाममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता थियो । नयाँ खेलकुद ऐन अनुसार पेस्डान राखेपमा नवीकरण गर्न नमिल्ने भएपछि आगामी दिनमा खेलकुद गतिविधिलाई निरन्तरता दिने उद्देश्यसाथ इसानलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको हो । पेस्डानले विभिन्न खेल समावेश गरी १३ औँ संस्करणको खेलकुद प्रतियोगिता आयोजना गरिसकेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७