नारायणगढ–मुग्लिङ सडक पूरै कालोपत्र, हट्दैछ यात्रुको सास्ती


२३ जेष्ठ २०७५, बुधबार
Narayangadh muglin 1

चितवन, २३ जेठ । नारायणगढ–मुग्लिन सडक खण्डमा सकसले यात्रा गर्दै आएका सर्वसाधरण अब यो सास्तीाट मुक्त हुने भएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्डको पूरै भागमा कालोपत्र गर्ने कार्य सकिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार मंगलबार राति १२ बजे सो सडकको ३३ दशमलब २ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ ।

Narayangadh muglin 1
नारायणगढ–मुग्लिन सडक पूरै कालोपत्र दुँदै । तस्विर : सामाजिक सञ्जाल

यससँगै दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारी रोकेर काम गरिँदै आएकोमा आजदेखि सवारी नरोकिने खनालले जानकारी दिए । उनका अनुसार दोस्रो तह ३२ दशमलब ७ किलोमिटर र तेस्रो तह १२ दशमलब ७ किलोमिटर कालोपत्र गरिएको छ । पहिलो र दोस्रो तहमा ६–६ सेन्टिमिटर र तेस्रो तह चार सेन्टिमिटर बाक्लो हुनेछ । उच्चस्तरको कालोपत्र भएकाले पहिलो तह सम्पन्न भएसँँगै पहिरोबाहेक अन्य जोखिमबाट सडक मुक्त भएको हो ।

सो सडकलाई तीन भागमा विभाजन गरेर काम गरिएको छ । पहिलो खण्ड आँपटारीदेखि दासढुङ्गासम्मको १० दशमलब ४५ किलोमिटरको ठेक्का पाएको बीएलए श्रेष्ठ जेभिको पहिलो र दोस्रो तह पूरै कालोपत्र भइसकेको छ भने तेस्रो तहको दुई किलोमिटर कालोपत्रे भएको छ । सो सडक खण्डको कालोपत्र र सडक सुरक्षाको काम मात्रै बाँकी रहेको खनालले जानकारी दिए । दोस्रो खण्ड दासढुङ्गादेखि सिमलतालसम्मको १० दशमलव ६९ किलोमिटर सडकको अधिकांश काम सम्पन्न भएको छ । सो खण्डमा उड्हिल लामा जेभीले निर्माणको जिम्मा पाएको थियो । सो खण्डको प्रगति ९७ दशमलब ५० प्रतिशत भएको छ । एक वर्षसम्म काम हेर्नु पर्ने भएकाले प्रगति शत्प्रतिशत हुन एक वर्ष कुर्नुपर्ने हुन्छ ।

तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको १२ दशमलब १५ किलोमिटर हो । सो खण्डको प्रगति ८५ प्रतिशत भएको सूचना अधिकारी खनालले बताए । सो खण्डको दोस्रो तह ११ दशमलब ८० किलोमिटर सम्पन्न भएको छ भने तेस्रो खण्ड पूरै बाँकी रहेको छ । तेस्रो खण्डमा कालोपत्र, रोड एङ्करिङ् र सडक सुरक्षाको काम बाँकी रहेको खनालले बताए । मौसम अनुकूल भएमा एक दिनमा दोस्रो र तेस्रो तहको कालोपत्र एक किलोमिटर गर्न सकिने भएकाले लामो समय नलाग्ने उनले बताए ।

चौथो पटकको मिति थपअनुसार पहिलो खण्डको मई १० मा म्याद सकिएको छ भने दोस्रो खण्डको २० मई र तेस्रो खण्डको ३० मई २०१८ मा सकिएको छ । हालसम्म सो सडकको समग्र प्रगति ९१ दशमलव पाँच प्रतिशत भएको छ । काम बाँकी रहेकाले समय थप गर्ने प्रक्रिया अघि बढाइएको छ । सो सडक सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म बर्सात् बढी भएका कारण समय थप गरिँदै आएको छ । कालोपत्र गर्ने काम सम्पन्न भएसँगै पहिरो झर्ने र गाडी बिग्रिने नभएमा एक घण्टा भित्रमा सो सडक पार गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख सन्तोष पन्तले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७