प्रचण्डलाई बाबुरामको म्यासेज : उहाँहरुलाई भित्र्याउनुस्, किन यत्रो रडाको ?

‘तपाईंहरु जानुस्, सांसद पद खोस्दैनौं’


७ चैत्र २०८०, बुधबार
prachanda baburam 750

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीमा समाहित हुन चाहने आफ्नो पार्टीका नेताहरूलाई भित्र्याउन आग्रह गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई म्यासेज पठाएका छन् ।

नेसपा बैठकका निर्णयहरू सार्वजनिक गर्न आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भित्रिने निर्णय गरिसकेकाहरूलाई चाँडो पार्टीमा भित्र्याउनुस् भनेर प्रचण्डलाई म्यासेज पठाएको जानकारी दिए । ‘मैले त प्रचण्डजीलाई पनि म्यासेज पठाएको छु । उहाँहरूले मरिहत्ते गरेपछि भित्र्याउनुस्, किन रडाको मच्याएको भनेर’, बाबुरामले भने ।

उनले आफूहरूसँग पार्टीको ७० प्रतिशत बहुमत रहेको दाबी गरे । अर्काे पक्षसँग ४० प्रतिशत नपुगेका कारण हस्ताक्षर संकलन गरिरहेको उनले बताए । ४० प्रतिशत नपुगे पनि माओवादीमा जानेहरूको पद नखोस्ने भट्टराईले बताएका छन् ।

‘मैले साथीहरूलाई पनि भनेको छु, तपाईंहरू जानुस्, तपाईंहरूको सांसद पद खोस्न मुद्दा मामिला गर्दैनौँ’, उनले भने । भट्टराईले आफूहरू वैकल्पिक शक्ति निर्माणमा जाने र सफल भएरै छाड्ने दाबी गरे । कमजोरी सच्याएर अगाडि बढ्ने उनले बताए । नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादवसहितका नेताहरूले शनिबार मात्र माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७