समाजवादी मोर्चामा एमाले अनिच्छुक : भएकाले राम्रो चलाए हुन्छ, छलफल गर्दै गरौंला


९ चैत्र २०८०, शुक्रबार
kp oli biplaw

काठमाडौं । समाजवादी मोर्चामा सत्ता साझेदार नेकपा एमालेलाई पनि ल्याउने कसरत भइरहेको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी तथा नेपाल समाजवादी पार्टी सम्मिलित मोर्चामा एमालेलाई पनि ल्याउने प्रयास भइरहेको हो ।

आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पनि यसबारे छलफल भएको छ । आज बसेको बैठकले त्यसका लागि प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जिम्मा दिएको छ । आजको बैठकले मोर्चालाई थप प्रभावकारी र विस्तार गर्दै अघि बढाउने निर्णय पनि गरेको छ । त्यसका लागि एमालेसहितका अन्य वाम शक्तिहरूलाई पनि मोर्चामा आबद्ध गराउनेबारे छलफल भएको हो ।

यसअघि नेपाल कम्युनिष्ट पार्टीका महसचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर मोर्चामा सहभागी हुन आग्रह गरेका थिए । बिहीबार साँझ ओली निवास बालकोटमा पुगेका विप्लवले एमालेलाई पनि मोर्चामा आबद्ध हुन आग्रह गरेका हुन् । विप्लव अहिले समाजवादी मोर्चाका अध्यक्ष छन् ।

‘सबै कम्युनिष्ट घटकहरूलाई एकताबद्ध गर्ने मोर्चाको घोषित नीति नै हो,’ भेटबारे विप्लवले सुनाए, ‘हामीले केपीजीलाई पनि मोर्चामा आउन आग्रह गरेका छौं, उहाँले छलफल गरौंला भन्नु भएको छ ।’ ओलीले सकरात्मक प्रतिक्रिया दिएपछि विप्लवले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् ।

उनले बलियो कम्युनिष्ट शक्ति बनाउनका लागि एमालेलाई पनि मोर्चामा आबद्ध गराउनुपर्ने आफ्नो धारणा रहेको र त्यसका लागि ओलीसँग छलफल गर्न प्रचण्ड र माधव नेपालसँग आग्रह गरेको बताए । ओलीसँगको भेटमा अहिलेको सत्ता गठबन्धन तुलनात्मक रूपले राम्रो भएको र यसमा अरू दलहरूलाई पनि सहभागी गराएर बृहत गठबन्धन बनाउनुपर्ने विषयमा पनि छलफल भएको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७