चिलिमे-त्रिशूलीको काम हेरेपछि कुलमानले भने, ‘काम गर्न नसक्ने भए हात उठाउनुस्’


२६ फाल्गुन २०७६, सोमबार
kulman

रसुवा, २६ फागुन । रसुवामा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाहका लागि निर्माण भइरहेको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको कामलाई सोचें अनुसार अगाडि नबढेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत निरीक्षण गरेका छन् ।

घिसिङले यो प्रसारण लाइन अत्यन्तै संवेदनशील भएकाले निर्माणमा हेल्चेक्र्याई नगर्न सम्बन्धित ठेकेदारलाई निर्देशन समेत दिएका छन् । प्रसारण लाइनको कामलाई सहज रुपमा अगाडि बढाउन प्राधिकरण सहजीकरणका लागि सँधै तयार रहेको बताउँदै अहिलको गतिमा प्रसारण लाइन र सबस्टेसनको काम भए निर्माण सक्नै धेरै समय लाग्ने बताए ।

ठेकेदारप्रति निकै कडा रुपमा प्रस्तुत भएका निर्देशक घिसिङले भने, ‘गर्ने भए कामलाई तीब्रता दिनुहोस् होइन भने हामीले नसक्ने भयौं भन्दै हात उठाएर हिंड्नुहोस् ।’ उनले नगद प्रवाहको समस्या समाधान गर्न र साइटमा हुने अवरोधका समस्या हल गर्न प्राधिकरण तयार रहेको बताउँदै निर्माणमा ढिलाइ भएर उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी ठेकेदारले लिनुपर्ने समेत चेतावनी दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरु हरराज न्यौपाने र बज्रभूषण चौधरी, आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीचको छलफलपछि कामलाई तीव्रता दिन श्रमिक थप्ने सहमति भएको छ । सहमति अनुसार ठेकेदार कम्पनीले फागुनभित्रमा प्रसारण लाइन, चिलिमे र त्रिशूली ३ बी हब सबस्टेसन निर्माण गर्न साइटमा क्रमशः ४ सय, १ सय ३० र २ सय ५० श्रमिक परिचालन गर्नेछ ।

टोलीले नुवाकोटको किस्पाङ गाउँपालिका ५ को पहिरेबेसीमा निर्माणाधीन त्रिशूली ३ बी हब सबस्टेसन, कार्यालय निर्माणामा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीसँग छलफल गरेको थियो ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेनको आयोजनाको विद्युत् खेर जाने अवस्था आउन लागेपछि कार्यकारी निर्देशक घिसिङसहितको टोली प्रसारण लाइन निर्माणको स्थलगत निरीक्षणमा पुगेको हो । आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका तीन जलविद्युत् आयोजनाहरुको विद्युत् यही प्रसारण लाइनमा जोडिने छ ।

ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्या समाधानका लागि पेस भएका बिलको भुक्तानी प्रक्रियालाई सरलीकृत गरी छिट्टो टुङ्ग्याउन आयोजना र परामर्शदाताले आवश्यक पहल गर्ने जनाइएको छ । चिनियाँ ठेकेदार कम्पनी पिङगाओ ग्रुप अफ् कम्पनीजको कमजोर कार्य सम्पादनका कारण आयोजनाको निर्माण ढिलाइ भइरहेको छ ।

ठेकेदार कम्पनीले २७ किलोमिटर प्रसारण लाइनसँगै चिलिमे र त्रिशूली ३ बी हब सबस्टेसनको पनि निर्माणको जिम्मा पाएको छ । प्रसारण लाइनमा पर्ने ७८ वटा टावरमध्ये ८ वटाको जग हालिएको छ, ४० वटा जग हाल्न खनिएको छ । बाँकीको जग हाल्न खन्ने काम भइरहेको र टावर तथा कण्डक्टर भारतबाट आउने क्रममा रहेको आयोजना प्रमुख शुभारम्भ विक्रम शाहले जानकारी दिएका छन् ।

आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली ३ बी हबसम्म ८ किलोमिटर चार सर्किट निर्माण गर्ने छ । ठेक्का सम्झौताअनुसार प्रसारण लाइनको आगामी फागुनको दोस्रो साता (२९ फेब्रुअरी २०२०) भित्र निर्माण सम्पन्न हुनुपर्ने थियो । अहिले ठेकेदार कम्पनीले आगामी भदौसम्म म्याद थपको माग गरेको छ । परामर्शदाताले भने असारसम्म मात्रै म्याद थप्न सिफारिस गरेको छ ।

त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने झण्डै ६ सय मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न प्रसारण लाइन र सबस्टेसनको निर्माण गर्न लागिएको हो । आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैंक, युरोपेली लगानी बैंकको सहुलितपूर्ण ऋण रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७