सन्तोषी र दीपकलाई हाफ म्याराथनको उपाधि


१० चैत्र २०८०, शनिबार
PradeeprajOnta KTM RSS 10 deepak santoshi

काठमाडौँ । बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले शनिवार राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न तेस्रो संस्करणको हाफ म्याराथनमा पुरुषतर्फ दीपक र महिलामा बागमतीकी सन्तोषी च्याम्पियन भएका हुन् । दीपक लगातार दोस्रो वर्ष च्याम्पियन भए । सन्तोषी भने पहिलो संस्करणकी च्याम्पियन हुन् । दशरथ रङ्गशालाबाट सुरु भएको हाफ म्याराथन भक्तपुरको राधेराधे पुगेर सोही रुटबाट फर्किएको हो । दीपकले यो निर्धारित दूरी पूरा गर्न एक घण्टा सात मिनेट ३३ सेकेण्ड समय लगाए । एपिएफका गोपीचन्द्र पार्की ९ सेकेण्डले मात्र पछि रहँदा दोस्रो स्थानमा खुम्चिए । पार्कीले एक घण्टा सात मिनेट ४२ सेकेण्ड समय लगाएका थिए ।

पर्वतका तीर्थ पुन तेस्रो स्थानमा रहे । उनले एक घण्टा सात मिनेट ४३ सेकेन्डमा दुरी पूरा गरे । आर्मीका नरेन्द्र रावलले चौथो भए । नरेन्द्रले एक घण्टा आठ मिनेट ५१ सकेण्ड समय लगाए । खडकबहादुर खड्का एक घण्टा आठ मिनेट ५६ सकेण्डमा दूरी पूरा गर्दै पाँचौँ स्थानमा रहे । महिलामा च्याम्पियन सन्तोषीले एक घण्टा २० मिनेट १९ सेकेण्ड समय लगाइन् । नेपाल पुलिसकी राममाया बुढा दोस्रो र एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन् । राममायाले एक घण्टा २१ मिनेट ५६ सेकेन्ड र पुष्पाले एक घण्टा २३ मिनेट दुई सेकेण्ड समय लगाए । आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले चौथो र एपिएफकी फूलमति राना तेस्रो भए ।

पूर्णलक्ष्मीले एक घण्टा २३ मिनेट २० सेकेन्ड र फूलमतीले एक घण्टा २५ मिनेट १७ सेकेण्ड समय लगाए । महिला र पुरुष दुवैमा हाफ म्याराथन विजेताले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले ४० र पाँचौँ स्थान प्राप्त गर्नेले ३० हजार रुपैयाँ पाए । १० किलोमिटर पुरुषतर्फ खुलामा आर्मीले वर्चस्व जमायो । आर्मीकी खेलाडीले पहिलोदेखि पाँचौँ स्थानसम्म प्राप्त गरे । आर्मीका मुकेश पाल, सञ्जय श्रेष्ठ, गजेन्द्र राई, सुवाष कार्की र श्रीकाश राईले शीर्ष पाँच स्थान प्राप्त गरे ।

पाँच किलोमिटर खुला महिलामा आर्मीकी सृजना पाण्डेय, राजपुरा पछाई, निर्मला केसी, आशा रावत र सुमित्राकुमारी चौधरी पाँचौँ स्थानमा रहे । स्कुल पाँच किलोमिटरमा विश्वराम कुँवर, बादल कार्की र विकेश घिमिरेले शीर्ष तीन स्थान प्राप्त गरे । स्कुलतर्फ नै तीन किलोमिटर महिलामा कल्पना बुढा पहिलो, अस्मिता भुजेल दोस्रो र अमिशा राई तेस्रो भए ।

ह्विलचियर तीन किलोमिटर पुरुषमा रामकाजी मिजार, रमेश खत्री र प्रेम विक क्रमशः पहिलोदेखि तेस्रो भए । यसै विधाको महिलामा ऐश्वर्यकुमारी कुमाल, यामी झाक्री मगर, रजनी राई, पेमा गुरुङ र वविता थापा पाँचौँ स्थानमा रहिन् । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७