बिजुलीको तार चुँडिएर आँगनमा खस्दा हजुरआमा र नातिको करेण्ट लागेर मृत्यु, एक गम्भीर


१० चैत्र २०८०, शनिबार
current

दाङ । दाङमा करेण्ट लागेर दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । राप्ती गाउँपालिका–३ मसुरियास्थित विद्युतको तार चुँडिएर करेण्ट लाग्दा एकै घरका दुई जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

स्थानीय ५५ वर्षीय दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले जानकारी दिए । हजुरआमा र नाति घरको आँगनमा उभिएको अवस्थामा करेण्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेण्ट लाग्दा ६० वर्षीय गोरखबहादुर केसी गम्भीर घाइते भएका र उनलाई उपचारका लागि बुटवल लगिएको छ । एक्कासी बिजुली तार चुँडिएर घरको आँगनमा पुग्दा करेण्ट लागेको थियो । नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार चुडिएर करेण्ट लागेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७