एक्लियो भन्नेलाई बाबुरामको जवाफ : व्यक्ति केन्द्रित हैन, मुद्दा केन्द्रित बहस गरौं

‘बर्षमा तीनचोटी गठबन्धन र सरकार परिवर्तन हुने देश कसरी सुशासित र समृद्ध हुन्छ ?’


१० चैत्र २०८०, शनिबार
Baburam 2

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई एक्लियो भनेर चिन्ता गर्नुभन्दा देशका मुद्दामा केन्द्रित बहस गर्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत डा. भट्टराईले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक ढाँचामा प्रत्यक्ष निर्वाचित व्यवस्थापिका प्रणालीमा जानुपर्ने उनले बताएका छन् ।
उनले भनेका छन् :

धेरै महानुभवहरूले बाबुराम ‘एक्लियो’ ‘हरायो’ भनेर चिन्ता गरेको देखियो । चिन्ता त्यता हैन यता गरौं :
१) बर्षमा तीनचोटी गठबन्धन र सरकार परिवर्तन हुने र उनै भिजनविहीन, गफाष्टक, आत्मकेन्द्रित, विवादास्पद मान्छेबीच कुर्सी साटासाट भइरहने हो भने भिजिनरी नेतृत्वसहितको राजनीतिक स्थिरता कसरी हासिल हुन्छ ? लोकतान्त्रिक स्थिरता विना देश कसरी सुशासित र समृद्ध हुन्छ ? यस निम्ति छिटो संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक ढाँचामा प्रत्यक्ष निर्वाचित व्यवस्थापिका प्रणालीमा किन नजाने ?

२) पालैपालो सबै प्रमुख दल र नेताको नेतृत्व रहेका सरकारहरू अरबौं अर्बका भ्रष्टाचार काण्डहरूमा मुछिएको जगजाहेर भइसक्दा उनीहरूले नै अहिले भएकै शक्तिविहीन संस्थाहरूमार्फत भ्रष्टाचारीलाई कार्वाही गर्छन् र देशमा सुशासन कायम हुन्छ भनेर आशा गर्नु नीति कथाको स्यालले ‘झर्ला र खाउक कला’ भने जस्तै हुन्न र ? अधिकारसम्पन्न र स्वायत्त जनलोकपाल वा यस्तै वैकल्पिक संयन्त्र निर्माण गरेर ‘ठूला माछा’ लाई समेत तह लगाउने र देशमा कडाइपूर्वक विधिको शासन कायम गर्ने दिशामा किन नजाने ?

३) दशकौंदेखि ३–४ प्रतिशत भन्दा माथि आर्थिक बृद्धिदर हासिल नभएको, देश श्रम निर्यात र वस्तु आयातको दुष्चक्रमा फसेको, व्यापार घाटा र वैदेशिक ऋण वर्षेनी चुलिँदै गएको, पहिले उद्योग र पछि कृषि क्षेत्र पूरै धरासायी हुँदै गएको, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको कुरा छेपारोको कथामा सीमित भइरहेको आदि गम्भीर अर्थ–राजनीतिक संरचनात्मक समस्या हल नगरी देश कसरी समृ्द्ध बन्छ ? यिनै भिजनविहीन, निष्ठारहित मान्छेहरूबाट यी कुरा सम्भव होलान् ?
आदि इत्यादि ! अतः हाम्रो सार्वजनिक विमर्शलाई व्यक्ति–केन्द्रित हैन मुद्दा–केन्द्रित बनाउने कि ? बाबुरामहरू त इतिहासमा आउँछन् जान्छन् ! इतिहासले सबैको हिसाब राखिहाल्छ नि !

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७