प्रदेश सभा सदस्यको प्रतिबद्धता, छुवाछुतको विभेद गर्नेलाई कारवाही गर्ने

शशि पन्थी
भैरहवा, जेठ २१ । १३ औँ जातिय विभेद तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा ५ नं प्रदेशका प्रदेश सभा सदस्य फकरुद्धिन खानले छुवाछुतको विभेद गर्नेलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दलित विकास नगर समन्वय समिति सिद्धार्थनगरको आयोजनामा १३ औँ जातिय विभेद तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा आयोजित छुवाछुत एवं जातिय विभेद अन्त र यसका चुनौतिहरु विषयक अन्तरक्रियाको प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै प्रदेश सभा सदस्य फकरुद्धिन खाँनले दोषिलाई कडा भन्दा कडा कारवाहि होस भन्ने हिसाबले त्यस्ता गल्ती गर्नेलाई कारवाहि गर्ने सवालमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
संस्थाका उपाध्यक्ष गोपाल रामदामको अध्यक्षतामा भएको कार्यक्रममा ५ नं प्रदेश की प्रदेश सभा सदस्य दिपा सुनारले दलितका अधिकार कानुनमा लेखेर मात्र नपुग्ने त्यसमा निरन्तर खबरदारी समेत आवस्यक रहेको बताइन । नेकपाका केन्दीय सदस्य बामदेव क्षेत्रीले मान्छे भित्रको ब्राह्मणवादी सोँच सबैमा रहेको हुनाले त्यो सोँच नत्यागे सम्म छुवाछुत मुक्त हुन नसक्ने बताए ।
रुपन्देही जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्माले देशका प्रत्येक वडाहरुमा एकजना सदस्य दलितका अगुवा भएको हुनाले ति सदस्य नेताहरुले दलितका समस्या समाधानमा लाग्न आग्रह गरे । सिद्धार्थनगर नगरपालीकाका मेयर हरि अधिकारीले दलितहरुका लागि नगरपालीकाले के गर्नु पर्ने हो योजना लिएर आउन दलित अगुवाहरुलाई आग्रह गरे ।
कार्यक्रममा दलितका अगुवाहरु प्रेम कुमार सेञ्चुरी, त्रिलोक नारायण सिंह विश्वकर्मा,पदम विश्वकर्मा, किस्मत वि.क. लगायतले दलितका हक अधिकारको विषयमा मन्तव्य व्यक्त राखेका थिए ।