कर्जन्हाका तत्कालीन मेयर पासवानसहित पाँच जनाविरुद्ध एक करोड भ्रष्टाचारको मुद्दा


१४ चैत्र २०८०, बुधबार
Akhtiyar

जनकपुरधाम । सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

नगरपालिकाका अर्का तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रविनकुमार महतो र निर्माण व्यवसायी महालक्ष्मी-पाण्डे एण्ड कम्पनी-ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवमाथि पनि मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि विशेष अदालतमा आज मुद्दा दायर गरेको हो ।

०७८/७९ मा प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा उनीहरू अनियमितता गरेको आयोगको ठहर छ । उच्च अदालत जनकपुर, राजविराजले प्रक्रिया पुरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र नसार्न र तोकिएको साबिक कर्जन्हा गाविसको कार्यालयबाटै कार्यालय सञ्चालन गर्नु भनेर जारी गरेको आदेश विपरीत प्रशासनिक भवन निर्माणको ठेक्का लगाएर सार्वजनिक सम्पत्तिको हानि-नोक्सानी पुर्‍याएको आयोगले आरोप पत्रमा दाबी गरेको छ ।

निर्माण व्यवसायीले भवन निर्माणका लागि पेस्की भुक्तानी लिएको थियो । तर निर्माण कार्य सुरु नगरेको, पेस्की भुक्तानी ग्यारेन्टीको म्याद समाप्त भइसक्दा पनि म्याद थप नगरेको र फिर्ता दाखिला नगरेको आयोगले जनाएको छ । आयोगले तत्कालीन मेयर पासवानसहित पाँचै जनालाई विपक्षी बनाउँदै एक करोड आठ लाख रुपैयाँ बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७