डा. हरि लम्साल सचिवमा बढुवा, पर्यटन बोर्डमा तीन सदस्य मनोनीत

अरु के–के गर्‍यो मन्त्रिपरिषद वैठकले निर्णय ?


१५ चैत्र २०८०, बिहीबार
hari lamsal

काठमाडौँ । सहसचिव डा. हरि लम्साल सचिव (विशिष्ठ श्रेणी) पदमा बढुवा भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका तीनमध्ये लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय लिएको हो ।लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले तीन जना सहसचिवहरू डा. हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस गरेको थियो ।

१ नम्बरमा रहेका डा. लम्साल सचिव बनेका हुन् । उनी सुदूरपश्चिम प्रदेशको कायम मुकायम प्रमुख सचिवका रुपमा कार्यरत छन् । यस्तै शर्मा कोशी प्रदेशको निमित्त प्रमुख सचिव थिए । पौडेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अवकाशमा जानु पहिले नै राजीनामा दिएका थिए । त्यही कारण उक्त पद रिक्त थियो ।

यस्तै सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त तीन सदस्य पदमा मनोनयन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकबाट तीन सदस्य मनोनयन गरिएको हो । ती पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको सचिवालयले जानकारी गराएको छ ।

मन्त्रिपरिषद्का निर्णयहरू

१. नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७९/ ८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी सम्माननीय राष्ट्रपतिसमक्ष पेश गर्ने।

२. आर्थिक वर्ष २०८१/८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजश्व सात प्रदेशको लागि रु. ७७ अर्ब ५० करोड, स्थानीय तहका लागि रु. ७७ अर्ब ५० करोड र वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि रु. ६० अर्ब र स्थानीय तहहरुको लागि रु. ८८ अर्ब स्वीकृत गर्ने।

३. चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु. २७०७/२८ न्यूनतम समर्थन मूल्य तोक्ने। साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने।

४. नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा श्री ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने।

५. नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पद १ मा श्री हरिप्रसाद लम्साललाई बढुवा गर्ने।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७