सुहाङ-मिलन जम्काभेट : सुहाङले मिलनलाई भने, ‘इभाङ पुगेर तपाईंको आमालाई भेट्ने छु’


२१:०० बजे

इलाम : इलाम आगामी १५ वैशाख २०८१ गते हुन लागेको उपनिर्वाचनले इलामको माहोल तातेको छ । नेकपा (एमाले)ले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मिलन लिम्बू उम्मेदवार बनेका छन् ।

माओवादी केन्द्र छोडेर स्वतन्त्र उम्मेदारी दिने घोषणा गरेका लिम्बूलाई इलामको चोकबजारमा उम्मेदवार घोषणा गरेका हुन् । कांग्रेसले उम्मेदवार छनोट गर्न बाँकी छ ।

इलाम २ उपचुनावमा एमालेबाट उम्मेदवार बनेका नेम्बाङ र रास्वपाबाट उम्मेदवार बनेका लिम्बुबीच इलामको चोकबजार नजिकै जम्का भेट भयो ।

जम्काभेट भएपछि दुवैजना प्रतिस्पर्धीले हात मिलाए भने मुस्कुराउँदै एकअर्काबीच अंकमाल गरे। एकअर्कालाई शुभेच्छा व्यक्त गरे। भलाकुसारी भयो।

मिलनले सुहाङलाई आफ्नो घरमा आएर खाना खाएर जाने प्रस्ताव गरे। मिलनले भने, ‘मेरो घरमा आएर आमाले पकाएको खाना खाएर गइदिनुहोला।’

सुहाङले मिलनलाई भने, ‘अवश्य, म तपाईंको घरमा पुग्ने छु । आमालाई भेट्ने छु ।’

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको गत भदौ २५ मा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।

०७९ सालको निर्वाचनमा नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी बनेका थिए। निकटतम् प्रतिद्वन्द्वी कांग्रेस जिल्ला सभापति तथा गठबन्धनका उम्मेदवार डम्बर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए।

समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ८६ मत ल्याएका थिए।

एमाले जिल्ला सचिव उमेश गुरुङ इलाम क्षेत्र-२ मा पार्टी संगठन बलियो भएकाले जित आफ्नै दलको हुने दाबी गर्छन्। ‘हामी तीन–चार महिनादेखि नै यो क्षेत्रमा चुनावी तयारीमै केन्द्रित छौं, पार्टी संगठन बलियो छ, जित निश्चित नै छ,’ सचिव गुरुङ भन्छन्, ‘अब पनि पार्टीको सिंगो पंक्ति यही निर्वाचनमा केन्द्रित हुनेछ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७