पर्वतमा घरभित्रै दम्पतीको हत्या : हरेक विहान छोरा–बुहारीलाई फोन गर्ने आमाले फोन नै नउठाएपछि …


१०:३६ बजे

पर्वत । पर्वतको जलजला गाउँपालिका २ दहमा दम्पती रहस्यमय रुपमा मृत भेटिएका छन् । ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षत्री र उनकी श्रीमती ६७ वर्षीया कमला घर्ती क्षत्रि घरभित्रै मृत भेटिएका हुन् ।

घरभित्र मृत फेला परेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख डिएसपी खुमलाल भुसाल नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालिसकेको छ । मंगलबार बिहान साढे ९ बजे घटनाबारे खबर पाएको भुषालले जानकारी दिए । घरमा सूर्यबहादुर र कमला दम्पती मात्रै बस्थे । दुई छोरा वैदेशिक रोजगारीको सिलसिलामा कोरिया र एक छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका छन् ।

‘हरेक दिन बिहान आमाले छोरा–बुहारीसँग फोनमा कुराकानी गर्नु हुँदोरहेछ । आज बिहान आमाको फोन आएनछ । छोरा–बुहारीले फोन गर्दा पनि उठेनछ,’ उनले सुनाए, ‘फोन नउठेपछि म्याग्दीमा रहेका जेठो छोरा र माइली बुहारी घर पुग्दा दुवै जना मृत भेटिएका हुन् ।’

घरभित्र मृत भेटिए पनि कोठामा भने ढोकामा भने ताल्चा लगाइएको पाइएको डिएसपी भुसालले जानकारी दिए । ‘ढोका फोडेर भित्र हेर्दा मृत भेटिएको रहेछ,’ घटनाबारे उनले सुनाए । घटनास्थल बाहिर हेर्दा संघर्ष भएको संकेत नदेखिने उनको भनाइ छ । गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डाक्टर र कुुकुरसहितको विज्ञ टोली घटनास्थलतर्फ जाँदैछ ।

पर्वत प्रहरीले पनि प्रारम्भिक अनुसनधान थालेको जनाएको छ । घटनास्थलमा पुगेको प्रहरीले हत्याको अनुमान गरेको छ । गाउँमा सूर्यबहादुर र छिमेकीको दुई घर मात्रै छ । मल्लाज जाने ट्रेकिङ रुटमा घटनास्थलमा पर्ने प्रहरीले जनाएको छ । म्याग्दीको गलेश्वरबाट पारिपट्टी घटना भएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७