बागमतीमा एमालेका चार जना मन्त्री बन्दै, आजै शपथ


२० चैत्र २०८०, मंगलवार
Bagmati

काठमाडौं । हिजो सोमबार विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सत्ता साझेदार नेकपा एमालेबाट चार जनालाई आजै मन्त्री नियुक्त गर्दैछन् ।

आज (मंगलबार) नै अर्को सत्ता साझेदार दल एकीकृत समाजवादीकी रमा आलेमगरले विना विभागीय मन्त्रीका रूपमा शपथ लिएकी थिइन् । एमालेबाट तीन जना पुरानै अनुहार दोहोरिने सम्भावना रहेको छ भने एक जना नयाँ अनुहार मन्त्री बन्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ । यसअघि १७ चैतमा एमालेका तर्फबाट बामगमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बनिसकेका छन् ।

एमालेबाट मन्त्री बन्ने लाइनमा रहेका पुराना अनुहारहरूमा केशव पोखरेल, एकालाल श्रेष्ठ र रामेश्वर श्रेष्ठ छन् । उनीहरू गत वर्ष २५ पुसमा बनेको एमाले, माओवादी केन्द्र र राप्रपा गठबन्धनको सरकारमा समेत मन्त्री थिए । केन्द्रमा सत्ता समीकरण फेरिएपछि दुई महिने सरकार चलाएको एमाले १० चैत ०७९ मा सरकारबाट बाहिरिएको थियो ।

एमालेका तर्फबाट मन्त्री बन्ने नयाँ अनुहारमा प्रकाश श्रेष्ठको नाम चर्चामा छ । उनले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई जोगाउन हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्र बज्राचार्यलाई सरकारमा सहभागी गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्री बनाउन लागिएको भन्ने एमाले वृत्तमै चर्चा छ ।

मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गर्ने तयारी गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये एमालेले पाँच मन्त्रालयको नेतृत्व लिन लागेको हो । कांग्रेसले छोडेको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा १५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७