ढकमक्क गुराँसले रङ्गियो घोडेपानी


२० चैत्र २०८०, मंगलवार
Ghodepani myagdi

म्याग्दी । ‘घोरेपानी डाँडैमा, गुराँस फुल्यो झललल, आ हा हा हा.. लाउने भए लाउहै माया, घर हाम्रो म्याग्दी हजुर’ श्रीप्रसाद पुर्जा पुनको शब्द, पूर्ण रामजाली पुनको सङ्गीत र चन्द्रकुमार पुर्जा पुनको गायन रहेको यो गीतको शब्दझैं म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी गुराँस फुलेर मनमोहक बनेको छ ।

प्रकृतिमा रमाउनका लागि समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानी क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । घोडेपानीका बासिन्दा मीना पुनले गुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानीको जङ्गल घुम्न, पुनहिलबाट सूर्योदय र हिमाल अवलोकन गर्न आउने पर्यटकको चहलपहल बढेको बताइन् । ‘पाखामा ढकमक्क गुराँस फुलेर रङ्गिएपछि घोडेपानीमा पाहुनाको चहलपहल बढ्न थालेको छ’, घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष समेत रहेका उनले भनिन्, ‘घोडेपानीको दायाँ र बायाँ रहेको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ ।’

Gurash myagdi 1
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस र पृष्ठभूमिमा रहेको अन्नपूर्ण हिमालको मङ्गलबार बिहान देखिएको दृष्य । गुराँसको जङ्गलर हिमशृङ्खलाको सौन्दर्यमा रमाउन घोडेपानी उपयुक्त गन्तव्य हो । तस्बिर : सन्तोष गौतम / रासस

अन्नपूर्ण गाउँपालिका–५ शिखबाट घोडेपानी घुम्न गएका सुरेन गुरुङले स्वच्छ हावापानी र शान्त वातावरणले तन-मन चङ्गा बनाएको अनुभव सुनाए । ‘गुराँस, चराको चिरबिर आवाज र हिमालको दृश्यले लट्ठै बनायो’, उनले भने, ‘हिमाल हेर्दै गुराँससँग रमाउँदा समय बितेको पत्तै पाइँदैन ।’ दैनिक एक सय ५० देखि दुई सयजना पर्यटक घोडेपानी आउन थालेको पुनले बताइन् । गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो महसुस र तनावमुक्त भइने आन्तरिक पर्यटक तिलक तिलिजा पुनले बताए । तिलिजाको टोली गत शनिबार घोडेपानी पुगेर गुराँसका बोटमा रमाउने र तस्बिर खिचाएर फर्किएको हो ।

चैत–वैशाख गुराँस फुल्ने याम हो । समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको दृश्य अवलोकन गर्न जाने बाटोमा गुराँसको जङ्गल छ । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छ । पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ । विश्वमा ४२ प्रजातिको गुराँस पाइन्छ । त्यसमध्ये नेपालमा ३२ प्रजातिका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययनअनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छ ।

लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो । एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको दाबी अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले गरे । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय गन्तव्यमा समेटिएको घोडेपानी भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले ‘गुराँस पार्क’ निर्माण भएको छ । ठूलाठूला अक्षरको ब्लकबाट पोखरा–जोमसोम उडान भर्ने पर्यटकले जहाजबाटै हेर्न सक्ने गरी गुराँस पार्क लेखेको सेल्फी बोर्ड बनाइएको कालीसार गुराँस पार्क निर्माण समितिका अध्यक्ष सुशील पुनले बताए ।

Gurash myagdi 2
लालीगुराँस फुलेर राताम्मै भएको म्याग्दीको पर्यटकीय स्थल घोडेपानीको जङ्गल । लालीगुराँस र हिमाल हेर्न यतिबेला आन्तरिक तथा वाह्य पर्यटकहरु घोडेपानी पुग्ने गरेका छन् । तस्बिर : ध्रुवसागर शर्मा / रासस

पार्कको छेउमा खोल्सा परेको भाग थुनेर वन्यजन्तुका लागि पानी पिउने पोखरी पनि बनाइएको छ । अघिल्लो वर्ष यही क्षेत्रमा हर्स राइडिङ ट्रेल, साइक्लिङ ट्रेल र वर्ड वाचिङ पोइन्ट बनाइएको थियो । घोडेपानी–पुनहिल भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि गुराँसपार्क सहयोगी बन्न थालेको वडाअध्यक्ष रामबहादुर खड्काले बताए । घोडेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घण्टा गुराँसे जङ्गलभित्र हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ । घोडेपानीबाट ४५ मिनेट उकालो हिँडेपछि पुगिने समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय र हिमालको दृश्यावलोकनका लागि प्रसिद्ध गन्तव्य हो ।

गुराँस पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जङ्गलभित्र रहेको सुन्दर प्यारीबराह ताल पुगिन्छ । फर्कंदा प्यारीबराहबाट भलखराचौर हुँदै ४० मिनेटमा घोडेपानी बस्तीको पुछारमा आइपुगिन्छ । घोडेपानीको सिरानबाट कालीसार गुराँस पार्क हुँदै प्यारीबराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्न सकिन्छ । प्यारीबराहबाट घोडेपानीसम्मको घोडचढी (पोन्नी ट्रेल) मा जान सकिन्छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७