१५ वर्षदेखि ‘फरार’ पूर्व माओवादी लडाकु कमाण्डर खाम पक्राउ


२० चैत्र २०८०, मंगलवार
Kali Bahadur Kham

काठमाडौं । माओवादीका पूर्व कमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् । व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका उनलाई काठमाडौंको ठमेलबाट पक्राउ गरिएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले खाम पक्राउ परेको जानकारी दिए । उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए ।

रामेछाप घर भई काठमाडौँको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको अभियोग उनीमाथि छ । २०६५ वैशाख १५ गते अपहरण गरी श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्‍याइएको थियो । अत्यधिक कुटपिटबाट मृत्यु भएका श्रेष्ठको शव वैशाख २८ गते नारायणी नदीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो ।

माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो । सोही कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भएको थियो । घटना छानबिनका लागि भन्दै माओवादीका गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्कीलगायतको टोलीले श्रेष्ठलाई चितवन लगेर हत्या गरेको अभियोग छ । थापा खामकै अंगरक्षक थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७