प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु हुँदैन : माधव नेपाल


२० चैत्र २०८०, मंगलवार
madhav nepal1692689089
फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र योजना तय गर्नुपर्ने बताएका छन् । समाजवादी मोर्चाले आज यहाँ आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले जनतालाई विश्वासमा नलिई समाजवादी र वामपन्थी शक्ति अगाडि बढ्न नसक्ने बताए ।

कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताभित्र देखापरेको भ्रष्टीकरण, चरम व्यक्तिवादी अवसरवादको रोग देखिएको उल्लेख गर्दै समाज बदल्ने अगुवा भनिएकाहरू नै भ्रष्ट भएकामा पूर्व प्रधानमन्त्री नेपालले चिन्ता व्यक्त गरे । विकास र समृद्धिका लागि कुनै विषयले बाधा पु¥याएको खण्डमा त्यसलाई सुधार गरेर जानुपर्नेमा जोड दिँदै उनले आवश्यक परेको खण्डमा संविधान पनि संशोधन गर्नुपर्ने बताए । समय र समाजको गतिशीलतालाई बुझेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै पूर्व प्रधानमन्त्री नेपालले विकास, समृद्धिको यात्रालाई अगाडि बढाउनु पर्ने धारणा राखे ।

निर्वाचन प्रणालीमा देखिएको विकृतिको अन्त्य गर्नु जरुरी रहेकामा जोड दिँदै उनले आमरूपमा उठेको विषयलाई संवाद र छलफलका माध्यमबाट निष्कर्ष निकाल्नुपर्ने बताए । उनले देश र जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अगाडि बढाउनै पर्ने उल्लेख गरे ।

उनले भने, ‘यो निर्वाचनको विकृतिलाई कसरी नियन्त्रण गर्ने ? यसको निम्ति कुनै प्रत्यक्ष निर्वाचनको परिपाटीले टुङ्गो लगाउँदैन । प्रत्यक्ष प्रणालीले निर्वाचनको कार्यकारीको टुङ्गो लगाउने भए अमेरिकामा राष्ट्रपतिको चुनाव भइरहेको छ, त्यो हेर्नुस् त । केही समय पहिला भएको फिलिपिन्समा चुनावको स्थिति हेर्नुस् त । अब हुन गइरहेको दक्षिण अफ्रिकाको राष्ट्रपतिको चुनाव हेर्नुस् त । हाम्रो आचरण यस्तो छ । हामी जस्ता यस्तै खालका मान्छेहरू राष्ट्रपति भयो भने त यो देशको सबै लुटेर लगिदिन्छन् । अनि कुरा उठाउनेहरूलाई गोदेर कहाँ पुर्‍याइदिने हो ।’ चुनावको प्रणालीमा मुख्य समस्या भएको उल्लेख गर्दै अघि बढ्नका लागि संविधान सहयोगी र बाधक नबन्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७