ढोलाहिटीमा दुई युवकको हत्या आरोपमा फरार गुरुङले गरे आत्मसमर्पण


२० चैत्र २०८०, मंगलवार
dholihiti gurung

काठमाडौँ । ललितपुरको ढोलाहिटीमा दुई युवमाथि चक्कु प्रहार गरी हत्या गरेको घटनामा संलग्न फरार युवकले आत्मसमर्पण गरेका छन् । घटनामा संलग्न रहेका आरोपी तेह्रथुमका राजु गुरुङले मंगलबार दिउँसो जिल्ला प्रहरी परिसर ललितपुरमा आत्मसमर्पण गरेको ललितपुरका प्रहरी प्रवक्ता एसपी नरेश सुवेदीले जानकारी दिए ।

ढोलाहिटीस्थित डी पोपिना रेस्टुरेन्टमा होटल सञ्चालकले नै चक्कु प्रहार गरी पाँचथर घर भई खुमलटार बस्ने २९ वर्षीय पुजन राई र सुनसरीको धरान भई ढोलाहिटी बस्ने २८ वर्षीय रेवश राईको हत्या भएको थियो । सो घटनामा संलग्न देखिएका अन्य त्यसै राति पक्राउ परे पनि गुरुङ फरार थिए ।

अब उनलाई पनि थप अनुसन्धानका लागि चापागाउँ बृत्त पठाउने एसपी सुवेदीले बताएका छन् । गुरुङले दुई जनालाई चक्कु प्रहार गर्ने विजय राईलाई घटनास्थलबाट भगाएका थिए । दुई समूहको बीचमा विवाद हुँदा होटल सञ्चालक समेत जोडिएका थिए । अब यो मुद्दामा गुरुङसहित ५ जनाविरुद्ध अनुसन्धान अगाडि बढ्ने भएको हो ।

होटलका सञ्चालक खोटाङको साकेला गाउँपालिका २ सेखुवा घर भई हाल ललितपुरको जैनखेल बस्ने ३१ वर्षका विजय राई र सोही होटलका सञ्चालक खोटाङकै साकेला गाउँपालिका २ रतन्छा घर भई हाल ललितपुर १५ खुमलटार बस्ने ३० वर्षीय सुलभ राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको एसएसपी खनालले बताए । विशालले दुवै जनालाई चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

यस्तै होटलमा विवादको सुरुवात गर्ने भोजपुरको ट्याम्केमयुङ गाउँपालिका २ घर भई ललितपुर महानगरपालिका २६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर नगरपालिका ११ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका ६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्विहाङ राईविरुद्ध पनि कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ । घटनालगत्तै प्रहरीले १८ जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७