बर्खास्त डीएसपी ठगबहादुर केसीले घुस खाएको ठहर : दुई वर्ष कैद र ८ लाख ५० हजार जरिवाना


२० चैत्र २०८०, मंगलवार
DSP thagbahadur Kc1672032915

काठमाडौँ । नेपाल प्रहरीका बर्खास्त प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । विशेष अदालतले आज (मंगलबार) उनलाई दुई वर्ष जेल र ८ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार मुद्दामा केसीलाई दोषी ठहर गरेको हो । उनले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ङ) को कसूर गरेको ठहर विशेष अदालतले गरेको हो । अदालतले उक्त ऐनको दफा ३ को उपदफा (१) बमोजिम ठगबहादुरलाई २ वर्ष कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।

ईलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख केसीविरुद्ध गत भदौ १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले नेपाल प्रहरीबाट बर्खास्त डीएसपी केसीविरुद्ध १८ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । केसीले बुटवल उपमहानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीबाट लगेको सुन फिर्ता गर्नका लागि रकम माग गरेका थिए । केसीको निवास खानतलासी गर्दा नगदसहित उक्त सुन बरामद भएको थियो ।

केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लगेर १५ दिनसम्म राखेका थिए । त्यसक्रममा आफू कार्यरत कार्यालयका अन्य प्रहरीलाई पनि उनले थाहा दिएका थिएनन् । उनले उक्त सुन फिर्ता गरिदिन सेवाग्राहीसँग अन्य व्यक्तिमार्फत मोलमोलाई गरी नगद ८ लाख ५० हजार रुपैयाँ नगद र ९ लाख ५० हजार रुपैयाँको चेक समेत गरी जम्मा १८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७