रौतहटको वनमा भीषण डढेलो, वन कर्मचारी मूकर्दशक


२३ चैत्र २०८०, शुक्रबार
Dadhelo

रौतहट । रौतहटको वनमा भीषण डढेलो लागेकाे छ । वन कर्मचारीको चरम लापरवाहीका कारण रौतहटको वनमा भीषण डढेलो लागेको हो । चन्द्रनिगाहपुरदेखि धनसर खोलासम्मको वनमा भीषण डढेलो लागेको भए पनि त्यसलाई नियन्त्रणमा लिनेतर्फ वन कार्यालयले कुनै तदारुक्ता नदेखाएको स्थानीय बासिन्दाले बताएका छन् । चार दिन पहिला सो वनमा भएको आगलागीमा करिब ४० चट्टा सखुवाको दाउरा जलेर नष्ट भएको थियो ।

वनमा लागेको डढेलो वन कर्मचारीले नियन्त्रणमा लिनका लागि कुनै पनि प्रयास नगरेका कारण सो दाउरा जलेर नष्ट भएको स्थानीय बासिन्दाले बताएका छन् । पुनः बिहीबार सो क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन नसक्दा सो स्थानमा ८ गते गरी राखिएको अन्य काठ समेत जल्ने अवस्थामा पुगेको स्थानीय बासिन्दाले बचाएका छन् ।

डिभिजन वन कार्यालय रौतहटमा कार्यरत कर्मचारीहरूको चरम लापरवाहीका कारण रौतहटको घना वनमा डढेलो लागेको स्थानीयको आरोप छ । संघ सरकार र प्रदेश सरकारले डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय रौतहटमा पठाएको पैसा समेत वन कर्मचारीले एक दिन ¥याली निकालेर स्वाहा पारेको स्वयं वन कर्मचारीहरूले बताएका छन् ।

डढेलो नियन्त्रणका खातिर प्रचारप्रसार गर्नको लागि र चेतनामूलक कार्यक्रम गर्नका लागि डिभिजन वन कार्यालय रौतहटमा संघ सरकार र प्रदेश सरकार मातहतका वन मन्त्रालयले रकम पठाएको भए पनि सो रकम डिभिजन वन कार्यालय रौतहटले एक दिन चेतनामूलक र्याली गरेर सकेको वन कर्मचारीहरूले बताएका छन् । वन कर्मचारीहरूको चरम लापारवाहीका कारण वनमा लागेको डढेलोका कारण जङ्गली जनावरको बासस्थान समेत नष्ट भएको छ । वनमा डढेलो लाग्दा जङ्गली जनावरहरू गाउँ छेउमा पुग्ने र बाली खाने गरेका कारण स्थानीय बासिन्दाले जंगली जनावरको सिकार समेत गर्दै आएका छन् ।

डिभिजन वन कार्यालय रौतहटमा यतिबेला कार्यालय सहयोगीदेखि कार्यालय प्रमुखसम्म सबै रौतहटका स्थानीय कर्मचारी भएका कारण कसैलाई कसैलाई नटेर्ने गरेको केही वन कर्मचारीहरूको दाबी छ । डढेलो नियन्त्रणका लागि पनि ऊ जाने त्यो जाने भन्दै वन कर्मचारीहरू पन्छने गरेका कारण रौतहटको वनमा पछिल्लो समय भीषण आगलागी हुँदा लाखौं बराबरको काठ दाउरा समेत जलेर नष्ट भएको छ ।

यता डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकृत बिमल ठाकुरले वनमा लागेको डढेलो नियन्त्रणका लागि आफूहरूले सक्दो प्रयास गरिरहेको बताएका छन् । रौतहटको वनमा लागेको आगो नियन्त्रणमा नआउँदा त्यसबाट निस्किएको प्रदूषणका कारण गाउँ तथा बजारको वातावरण नै तुँवालोमय भएको छ । वनमा लागेको डढेलोको तुँवालोले सर्वसाधारणको आँखामा गम्भीर असर परिरहेको चन्द्रनिगापुरमा रहेको सिम्स अस्पताल प्रालीका डाक्टर रामकिशोर शाहको भनाइ रहेको छ । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७