बाम गठबन्धनले बाँडफाँड टुंग्यायो, ११० सिटमा एमाले ७२ र माओवादी ३३ सिट


१० कार्तिक २०७४, शुक्रबार

काठमाडौं : नेकपा (एमाले) र माओवादी केन्द्रले दोस्रो चरणमा चुनाव हुने प्रतिनिधिसभा र प्रदेश सभाको बाँडफाँट टुंगो लगाएका छ । एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदले दोस्रो चरणको ४५ जिल्लाका प्रतिनिधिसभाको १२८ मध्ये  ११० क्षेत्रको बाँडफाँट टुंगो लगाएको हो ।  शीर्ष तहमा छलफलपछि बाँकी सिटको शनिबारसम्म टुंगो लाग्ने नेताहरुले बताएका छन् ।

Prachanda KP Oli Madhav Nepal with Jhalnath
फाइल तस्बिर ।

सिट बाँडफाँडमा  माओवादी केन्द्रको भागमा ३३ सिट परेको छ भने एमालेले ७२ सिट लिएको छ । चार सिट स्वतन्त्र उम्मेदवारलाई छुट्याइएको छ । बाँकी १८ सिटमा छलफल चलिरहेको कार्यदलका एक सदस्यले जानकारी दिए ।
काठमाडौंमा एमालेले प्रदेशको १७ र प्रतिनिधिसभाको १७ सिट लिएको छ । माओवादीले दुबै सभाको ३ र ३ सिट पाएको छ । ललितपुरमा एमालेले प्रतिनिधिसभाको दुई सिट लिँदा माओवादीको भागमा एक सिट परेको छ । भक्तपुरको एमालेले प्रतिनिधिसभाको एक र प्रदेशसभाको २ सिट लिएको छ भने माओवादीले प्रदेशसभाको एक सिट लिएको छ । प्रदेश र प्रतिनिधिसभाको एक एक सिटबारे निर्णय हुन बाँकी छ ।
यसैगरी मोरङमा एमालेले ३ र माओवादीले २ सिट लिने सहमति भएको छ । एक सिटबारे छलफल जारी छ । सुनसरीको ४ निर्वाचन क्षेत्रबाट निर्णय गर्ने अधिकार शीर्षनेताहरुलाई लिइएको छ । झापामा माओवादीले प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई सिट पाएको छ ।
यस्तै धनकुटा, तेह्रथुमको प्रदेश र प्रतिनिधिसभाको सबै सिट एमालेले पाएको छ । इलाममा माओवादीले प्रदेशसभाको एक सिट पाएको छ । सिन्धुलीको प्रदेश र प्रतिनिधिसभा आधा–आधा लिने सहमति भएको छ भने मकवानपुरमा प्रतिनिधिसभाको दुबै सिट एमालेले लिएको छ । प्रदेशमा भने आधा आधा गरिएको छ । चितवनमा एमाले र माओवादीले १–१ सिट लिएका छन् । एक सिट टुंगो लागेको छैन ।
तनहुँ, स्याङ्जा, पर्वत, पाल्पा, गुल्मीको प्रतिनिधिसभा एमालेको भागमा परेको छ भने अर्घाखाँचीको प्रतिनिधिसभा माओवादीले लिएको छ । कपिलवस्तुमा भने दुई सिट स्वतन्त्रलाई दिइएको छ भने एक सिटबारे टुंगो लागेको छैन । दाङमा एमाले र माओवादीले ३ मध्ये दुई १–१ लिने सहमति भइसकेको छ भने एक बाकीँ छ ।
बाँकेका ३ सिटमध्ये एमाले र माओवादीले एक–एक बाँडेका छन् भने एक स्वतन्त्रलाई दिइएको छ । रुपन्देहीमा एमालेले ४ सिट पाएको छ भने माओवादीले एक सिट लिएको छ ।
दैलेखको दुबै, कैलालीको ३ र कञ्चनपुरको २ सिट एमालेले लिएको छ । डडेलधुरामा एक सिट लिएको माओवादीले कैलालीमा २ र कञ्चनपुरमा १ सिट पाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७