सांसद यादवको प्रश्न : घरमा राजनीति छ, उत्पादन कर्ममा को लाग्ने ?


२४ चैत्र २०८०, शनिबार
1712378870 naginaaaaa 1200x560 1

–नागिना यादव
संसदीय प्रणालीबारे विमर्श गर्दा विश्वमा रुपान्तरणकारी, सहभागितामूलक, प्रत्यक्षलगायत प्रणाली अभ्यासमा रहेको पाइन्छ। लोकतान्त्रिक रुपमा विवेचना गर्ने हो भने खासमा हुनुपर्ने चाहिँ रुपान्तरणकारी, सहभागितामूलक संसदीय प्रणाली हो । यद्यपि हाम्रो देशमा देखावटी (डमी) संसदीय प्रणाली हाबी भइरहेको छ ।

सरकारको बजेट र नीति तथा कार्यक्रम तयारी र पारितमा त्यही क्रम चलेको छ । विभिन्न विधेयक तर्जुमामा पनि सरकार नै हाबी भएको छ । यो लोकतन्त्रको उच्चतम् अभ्यासभित्र पर्दैन । हामीले जनताका प्रतिनिधिलाई मर्यादासहित स्वायत्तता दिन सक्नुपर्छ । त्यसले हाम्रो संसदीय प्रणाली बलियो बनाउँछ । कानुन निर्माणप्रतिको मुख्य दायित्व सांसदहरूको हो । हामीले इमानदार रुपमा भन्नुपर्दा त्यसलाई सही रुपमा पूरा गर्न सकेका छैनौं । हाम्रो पार्टी नेपाली कांग्रेस बहुदल र लोकतन्त्रमा विश्वास गर्ने एक पुरानो पार्टी भएकाले हामीले केही हदसम्म स्वतन्त्रता उपभोग गरेका छौं । तर कानुन निर्माणका समयमा हामी पनि पार्टीगत आधारमा चलेका हुन्छौं ।

महत्वपूर्ण सवालमा हामीले मन परे पनि नपरे पनि पार्टीले दिएको निर्देशन मान्नुपर्ने हुन्छ । त्यही भएर कतिपय अवस्थामा सांसदहरू आलोचित हुन्छौं । कुनै राम्रो कानुन बनेन वा पार्टीले जनताका भावना नबुझी निर्देशन दिएमा त्यो विवादको विषय बन्न सक्छ । विवादै भए पनि पार्टीको ह्वीप जारी भइसकेपछि हामीले आफूलाई ठीक नलागे पनि त्यसमा सहमति दिनुपर्ने हुन्छ । यस प्रकारको कार्यशैलीमा परिवर्तन ल्याउन हामीले प्रयत्न गर्नुपर्छ ।

वास्तवमा सांसदहरूमा आपसमा हार्दिकता हुनुपर्छ । देश निर्माणका सन्दर्भमा सहयात्री दलहरूबीच मिलाप र सहकार्य हुनुपर्छ । मुख्यतः ठूला र एवं पुराना पार्टीहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले आपसी दोषारोपण नगरेर देश र जनताका लागि समस्या समाधनमा निकासको बाटो दिन सक्नुपर्छ । त्यसो हुन सके केही विकास, प्रगति र स्थिरतामा केही सकारात्मक योगदान हुन्छ । यहाँ त लोकप्रियता हासिल गर्ने ‘स्टन्टबाजी’ मात्रै देखिन्छ । खाली आरोप–प्रत्यारोप भएको छ ।

ठूलाठूला कुरा र लामालामा भाषण भएको छ, अनि समयको बर्बादी पनि भएको छ । भोट ब्याङ्क बढाउन स्टन्टबाजी गरिरहनु पर्दैन । जनताका बीचमा काम गरे पुग्छ । सरकार वा राजनीतिक दलले जनतालाई सेवा दिने, मुलुकमा कानुन र विधिको शासन दिनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । आफ्ना स्वार्थमा हामी सीमित भएका छौं । यस प्रवृत्तिमा सुधार गर्नुपर्छ । हामी कांग्रेसभित्र अन्तरपार्टीमा सुधारका लागि अगाडि बढेका छौं । पार्टीभित्र महामन्त्रीसम्मका फरक मत प्रस्तुत भएका देखिरहनु भएकै छ । यसका आधारमा हाम्रो पार्टीमा आन्तरिक लोकतन्त्र अलि बलियो छ । हाम्रो पार्टीमा संसदमा बोल्ने विषयमा सामान्यतः ह्विप लाग्दैन, हामी स्वतन्त्र भएका बोलेका हुन्छौं, खाली महत्वपूर्ण विषय, विधेयक, विश्वासको मतदान आदि विषयमा मात्रै ह्विप लागेको हुन्छ ।

मुलुकमा सुशासन कायम हुनुपर्छ । यस सवालमा म के भन्न चाहन्छु भने भ्रष्टाचार अन्त्यका लागि ठूलाठूला कुरा गरेर हुँदैन । कतिपय नेताले त असल शासनको अर्थ नै नबुझे जस्तो लाग्छ । सुशासन सुशासन भनेर स्टन्ट मात्रै गरेर हुँदैन । सरकारमै बस्ने र विवादित काम जारी राख्ने गर्नु हुँदैन । उच्च नैतिकता प्रदर्शन गर्न सक्नुपर्छ । मैले विश्वका विभिन्न मुलुकको भ्रमण पनि गरेकी छु । हाम्रो देशमा प्रचुर सम्भावना भएर पनि हामी पछाडि परेका छौं । हामीकहाँ किन विकास भएन ? नेताहरूमा दूरदृष्टि नभएको हो कि ? काम गर्ने ढङ्ग नभएर हो ? किन शिक्षामा सुधार भएन ? कक्षा १ मा भर्ना हुने विद्यार्थी कक्षा १० मा पुग्दा साढे तीन लाखले किन कक्षा छाड्छन् ? यस्ता प्रश्नको ठोस जवाफ खोज्नुपर्छ ।

विकसित मुलुकमा राजनीतिमा यति धेरै चासो हुँदैन । हामीकहाँ प्रत्येक घरमा राजनीतिप्रति आकर्षण छ, यो हुनु राम्रो होइन, यस्तो देख्दा मलाई डर लाग्छ । सबैले राजनीति गरेर उत्पादनमूलक काममा को लाग्ने? अनि कामै नगरी खान खोजेपछि त्यो अनियमिततातिर उन्मुख हुँदै जान्छ । हामी वास्तविकतालाई स्वीकार्नु पर्छ । विदेशीको नक्कल गरेर मात्रै पनि हुँदैन । शिक्षाजस्ता विषयमा असल परम्परा नक्कल गर्न सकिन्छ तर हामी त भ्रष्टाचारमा नक्कल गरिरहेका छौं । जनताले यसबाट के सिक्ने ?

निर्वाचन प्रणालीमा सुधारको आवश्यकता औंल्याउने गरिएको छ । मौजुदा निर्वाचन कानुनमा पनि निर्वाचन खर्च निर्धारण गरिएको छ । वास्तविक रुपमा उम्मेदवारहरूको तोकिएभन्दा धेरै खर्च भएको छ । एक क्षेत्रमा निर्वाचन जित्न पाँचदेखि आठ करोड रुपैयाँ खर्च गरेका छन् उम्मेदवारहरूले । यसबारे गहिरो अध्ययन गर्न सक्नुपर्छ । नेपालीहरू इमानदार, साहसी र कर्तव्यनिष्ठ हुन्छन् भनेर विश्वमा चिनिएका छन् । अहिले अस्थिरता, अनियमितता, विवाद आदिको परिचय थपिएको छ । राज्यको स्रोतसाधनको सही उपयोग गर्न नसकेका कारणले यस्तो अवस्था सिर्जना भएको हो ।

युवा जनशक्तिबाट जनसांख्यिक लाभ हामीले लिन सकिरहेका छैनौं । त्यो लाभ विदेशीले लिइरहेका छन् । यो के कारणले भयो भन्नेबारेमा अध्ययन गर्नुपर्ने छ । गरिबी हो कि ? पहुँचको अभाव हो कि ? या के भएको हो ? नेताहरूले चाहेमा देश बन्छ । देश बन्न सबै प्रदेश बन्नुपर्छ। मलाई मधेस प्रदेशको खुब चिन्ता लाग्छ । यहाँ सुशासनको अभाव छ । संविधान प्रदत्त मौलिक हकको पालनामा कसैको ध्यान गएको छैन । मैले महोत्तरी र धनुषालगायत जिल्लामा दयनीय अवस्था देखेकी छु । हामी कहिले सुधारको बाटोमा अग्रसर हुने ? यो गम्भीर सवाल हो । म केवल सांसद हुँ । म कार्यकारी पदमा छैन । मैले जनताका आवाज संसदमा उठाउने गरेकी छु । कानुनमा सम्बोधन गराउने भूमिकालाई पनि पालना गर्छु । कार्यकारी पदमा रहेका सबैले सक्रिय भएर देशको विकासका निम्ति आफूलाई केन्द्रित गर्नुपर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७