कांग्रेसका ‘हेभिवेट’हरुलाई पनि चुनाव जित्न सकस


१० कार्तिक २०७४, शुक्रबार

काठमाडौं : स्थानीय तहको निर्वाचनमा पहिलो बनेको नेकपा (एमाले) र तेश्रो बनेको नेकपा (माओवादी केन्द्र) ले आगमी चुनावमा तालमेल गरेपछि कांग्रेसका कांग्रेसका ‘हेभिवेट’हरुलाई चुनाव जित्न सकस परेको छ । बाम तालमेलले चुनाव जित्न सकस भएपछि कांग्रेसले राजपा र संघीय समाजवादी फोरमसित चुनावी तालमेलको प्रयास जारी राखेका छन् ।

Nepali congress

कांग्रेसले केही ‘हेभिवेट’हरुलाई उम्मेदवार बनाइसकेको छ । बिहीबार बसेको संसदीय समिति बैठकले समितिमा रहेका नेताहरूको निर्वाचन क्षेत्र तय गरेको हो । कांग्रेस संसदीय समितिको निर्णयअनुसार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट चुनाव लड्नेछन् । देउवा ०४८ सालदेखि निरन्तर डडुलधुरबाटै निर्वाचित हुँदै आएका छन् । तर, यसपाली भने देउवालाई सजिलो छैन । स्थानीय तहको मतका आधारमा यो क्षेत्रमा कांग्रेसभन्दा वाम गठबन्धन निकै फराकिलो मतले अघि छ । देउवाको गृह जिल्ला डडेलधुरा सदरमुकामको अमरगढी नगरपालिकामा स्थानीय तहमा एमालले जितेको छ । डडेलधुरामा कांग्रेसभित्र तिव्र अन्तरबिरोध पनि रहेको छ । दुबै गुटले यसअघि फरक फरक उम्मेदवार सिफारिस गरेको थियो ।

कांग्रेस सभापति देउवाविरुद्ध वाम गठबन्धनबाट खगराज भट्ट उम्मेदवार हुनेछन् । माओवादी नेता भट्ट दुबै संविधानसभा चुनावमा देउवासँगै चुनाव लडेका थिए । देउवालाई यसअघि जस्तो यसपाली सहज देखिन्दैन ।  ०४८ देखि निरन्तर निर्वाचित हुँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट उम्मेदवार भएका छन् । तनहुँमा पनि कांग्रेसभित्र तिव्र समस्या छ । कांग्रेस नेता गोबिन्दराज जोशीले पौडेललाई देखाइदिने चेतावनी दिदै आएका छन् । पौडेलविरुद्ध वाम गठबन्धनबाट एमालेका किसान श्रेष्ठसँग उम्मेदवार बन्दैछन् ।

साविक ३ वटा निर्वाचन क्षेत्र रहेको तनहुँ अहिले २ वटा निर्वाचन क्षेत्र भएको छ । ०४८ सालमा तनहुँ निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका पौडेल ०५१ को निर्वाचनदेखि तनहुँ २ नम्बर क्षेत्रबाट निर्वाचन लड्दै विजयी बन्दै आएका छन् । विगतमा आफैंले छाडेको क्षेत्र नं १ का अधिकांश भूभाग समेटिएको क्षेत्र नं २ को भूगोलमा पौडेल २४ बर्षपछि फर्कन लागेका हुन् । पौडेलले छाडेपछि उनको विरासत जोशीले सम्हाल्दै आएका थिए । जोशीले तनहुँ १ बाट ०५१ र ०५६ मा भएको संसदीय निर्वाचनमा जिते पनि ०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा उनी तेस्रो भए । अकुत सम्पती आर्जन गरी भष्ट्राचार गरेको अभियोग जोशीमाथि लागेपछि उनको राजनीतिक जीवन करिब समाप्त भएको छ ।

भर्खरै नेपाल लोकतान्त्रिक फोरमबाट कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदार सुनसरी–३ बाट उम्मेदवार भएका छन् । यो क्षेत्र पनि उनको लागि त्यति सहज छैन । वाम गठबन्धनबाट पुरानै प्रतिद्वन्द्वी भगवति चौधरी उम्मेदवार बन्दैछिन् । यसअघिको निर्वाचनमा चौधरीले बढी मत ल्याएको तर गच्छदारलाई माथिको सहमतिमा जिताइएको चर्चा चलेको थियो । कांग्रेस महामन्त्री शशांक कोइराला नवलपरासी (पूर्वी)– १ बाट उम्मेदवार बनेका छन् । उनी यसअघिका दुवै संविधानसभा निर्वाचनमा नवलपरासीबाटै विजयी हुँदै आएका थिए । उनलाई पनि त्यहाँ सहज छैन । किभने हृदयस त्रिपाठी लगायतका नेताहरु एमालेमा मिलेको कारण सकस बनेको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौं– १ बाटै निर्वाचन लड्ने भएका छन् । ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा सिंह यसै निर्वाचन क्षेत्रबाट निर्वाचित संसद हुन् । त्यहाँबाट विवेकशिल साझा पार्टीका रबिन्द्र मिश्र चुनाव लड्ने भएका छन् । यसले गर्दा मिश्रले अधिकांस भोट कांग्रेसकै काट्ने अनुमान गरिएको छ । विमलेन्द्र निधि धनुषा–३ बाट उम्मेदवार हुने भएका छन् । अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला यसपटक समानुपातिकमा बसेका छन् । सिटौलाको निर्वाचन क्षेत्रमा राप्रपा उम्मेदवारलाई छाड्ने तयारी कांग्रेसको छ ।

पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का सुर्खेत १ बाट उम्मेदवार हुनेछन् । उनी यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट निर्वा्चित सांसद हुन् । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की गृहजिल्ला भोजपुर छाडेर सुनसरी ४ बाट उम्मेदवार हुँदै छन् । यसअघि समानुपातिक सांसद रहेका कार्की सुरक्षित स्थल खोज्दै सुनसरी पुगेका हुन् । कार्कीले सुरक्षित निर्वाचिन क्षेत्र खोजे पनि एमाले र माओवादीले आफ्ना मतदातालाई इन्ट्याकमा राखे उनलाई निकै कठिन हुने बताइन्छ ।

देउवा निकट अर्का नेता प्रकाशशरण महत गृहजिल्ला नुवाकोटमा क्षेत्र नपाएपछि काठमाडौं–५ बाट उम्मेदवार हुने भएका छन् । यस क्षेत्रबाट ०६४ र ०७० को संविधानसभा निर्वाचनमा केन्द्रीय सदस्य नरहरि आचार्य निर्वाचित हुँदै आएका थिए । यस निर्वाचन क्षेत्रमा वाम गठबन्धनको तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल लड्ने भएका छन् । यसअघि पराजित पोखरेलले यस क्षेत्रका जनतासँग निरन्तर सम्पर्क र समन्वय गरेका कारण पछिल्लो समयमा उनको अवस्था राम्रो बनेको छ ।

कांग्रेस केन्द्रीय सदस्यहरू महेश आचार्य मोरङ ४, शेखर कोइराला मोरङ ६ र मीनेन्द्र रिजाल मोरङ २ बाट चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । रिजाल यसअघि संविधानसभाका दुवै कालखण्डका समानुपातिक सांसद हुन् । कांग्रेस नेत्री सुजाता कोइराला समानुपातिकमा बसेपछि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको गृहक्षेत्रबाट रिजालले चुनाव लड्न पाएका हुन् । आचार्य र शेखर कोइराला यसअघि पनि निर्वा्चित सांसद नै हुन् । यस्तै, नारायण खड्का उदयपुर १, नविन्द्रराज जोशी काठमाडौं ८, रमेश लेखक कन्चनपुर ३, नारायणबहादुर कार्की उदयपुर २ र अर्जुन जोशी पर्वत १ बाट उम्मेदवार हुने भएका छन् । कांग्रेसले युवा नेता गगन थापालाई काठमाडौं–४ बाट उम्मेदवार बनाउने भएको छ । उनी यसअघि पनि उक्त क्षेत्रबाट संविधानसभामा निर्वा्चित भएका थिए ।

यसअघि समानुपातिकबाट सांसद रहेका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ यसपटक स्याङ्जा २ बाट प्रतिस्पर्धामा उत्रने भएका छन् । श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुर बारा ३ बाट प्रतिस्पर्धा गर्दै छन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वा्चित सांसद हुन् । अर्का केन्द्रीय सदस्य रमेश रिजाल पर्सा ४ बाट उम्मेदवार भएका छन् । केन्द्रीय सदस्य एनपी सावद कञ्चनपुर २ बाट उम्मेदवार भएका छन् ।

कांग्रेस संसदीय समितिमा रहेका नेता रामशरण महत र अर्जुननरसिंह केसीले नुवाकोटबाट उम्मेदवारी दर्ता गराइसकेका छन् । नुवाकोटमा पहिलो चरणमा चुनाव हुँदै छ । कांग्रेस केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादव यसपटक समानुपातिकमा बसेकी छन् । अर्की पूर्वकोषाध्यक्ष चित्रलेखा यादव पनि समानुपातिकमै छिन् । सीतादेवी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा निर्वा्चित हुन् भने चित्रलेखा अघिल्लोपटक पनि समानुपातिक सांसद नै हुन् । संसदीय समितिमा रहेका बालकृष्ण खाँडसमेत यसपटक समानुपातिकमा छन् । यसअघि रूपन्देहीबाट झिनो मतान्तरमा निर्वा्चित खाँड देशभर नै निर्वाचन हाँक्ने समितिमा बस्न सभापति देउवाले आग्रह गरेका कारण समानुपातिकमा बसेको दाबी गर्दै आएका छन् । संसदीय समितिकै सदस्य मानबहादुर विश्वकर्मा पनि समानुपातिक सूचीमै छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७