माथिल्लो तामाकोशीको दुई अर्ब शेयर बिक्रीको स्वीकृति, तपाईले कतिसम्म भर्न पाउनु हुन्छ ?


२४ जेष्ठ २०७५, बिहीबार
Upper Tamakoshi

काठमाडौं, २४ जेठ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर (आइपिओ) निष्कासनको बाटो खुलेको छ ।
नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपिओ बिक्रीका लागि स्वीकृति दिएको हो । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको हाल ९४ प्रतिशत निर्माण सकिएको छ ।Upper Tamakoshi

बोर्डले दोलखावासीलाई १० प्रतिशत र आमनेपालीलाई १५ प्रतिशत शेयर बिक्री गर्नेछ । आयोजनाका अनुसार स्थानीयवासीले एक अर्ब पाँच करोड ९० लाखबराबरको एक करोड ५ लाख ९० हजार कित्ता साधारण शेयर पाउने छन् । यस्तै आयोजनाले आमनेपालीलाई कूल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री गर्नेछ । सो अनुपातमा सर्वसाधारणले एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता साधारण शेयर प्राप्त गर्ने छन् ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माणाधीन आयोजना हो । आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाखभन्दा बढी सञ्चयकर्तालाई साधारण शेयर बिक्री गरिसकेको छ । हालसम्म बिक्री भएका साधारण शेयर नेपाल स्टक एक्स्चेन्जमा भने सूचीकृत हुन सकेको छैन ।  स्थानीय तथा सर्वसाधारणलाई छुट्याएको क्रमशः १० र १५ प्रतिशत साधारण शेयर बिक्री भएपछि मात्रै कर्मचारीलाई बिक्री गरिएको शेयर स्टकमा सूचीकृत गर्ने तयारी गरिएको छ । आयोजनाले स्थानीयवासीलाई अतिप्रभावित, प्रभावित र कम प्रभावित गरी तीन श्रेणीमा विभाजन गरेको छ ।

गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएको प्रभावित तथा कतै नछोइएको क्षेत्र कम प्रभावितमा राखिएको आयोजनाले जनाएको छ । स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयरमा आवेदन दिन पाउने व्यवस्था गरिएको छ । कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका छुट्याएको २४ प्रतिशत शेयर बाँडफाँड गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७