गोर्खा भर्तीको सान्दर्भिकता


२४ जेष्ठ २०७५, बिहीबार
Sachit Rai
  • सचित राई

प्रसङ्ग १
मेरो एक जना मित्र आइएस्सीको पढाइ सकिनासाथ लाहुरे बन्ने ध्याउन्नमा लागे । म महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा स्नातक अध्ययनरत रहँदा उनी लाहुरे बन्ने तयारीमा लागेका थिए । उनको तयारी लामो समयसम्म चल्यो । तर, उनलाई ‘भाग्य’ले साथ दिएन सायद । काँचो चना, अण्डा र महको ‘खुराकी’ लाहुरे बन्नका लागि व्यर्थै सावित भयो । उनी न लाहुरे बने न त उनले पढाइलाई नै अघि बढाउन सके । विज्ञान संकाय अध्ययन गरेको हुनाले उनी हाल गाउँको विद्यालयमा शिक्षणमा लागेर जीवन गुजारा चलाउँदैछन् ।

Sachit Rai

प्रसङ्ग २
मसँगै पढेका गाउँले साथी पढाइमा मध्यम स्तरका थिए । सानैदेखि लाहुरे बन्ने ध्याउन्नमा लागेका उनको पनि आइएसम्मको अध्ययनपछि पढाइ अघि बढ्न सकेन । उनलाई चाहिँ भाग्यले साथ दिएछ क्यारे ! उनी हाल गोरखा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्समा कार्यरत छन् । तर, लाहुरे बनेपछि उनको सिर्जनशील व्यक्तित्व भने विगतमा जस्तो नरहेको पाएँ । उनी छुट्टी मनाउन नेपाल आउँदा गत वर्ष काठमाडौँमा भएको एक भेटमा मसँग यसरी पोखिए– ‘फौजमा त कमान्डरले गधालाई गोरु भने हामीले पनि गोरु नै भन्नुपर्छ । गधा भन्न पाइँदैन ।’
यी फरक–फरक प्रसङ्गले गोरखा भर्तीको अवस्थाको चित्रण गर्छ । यी प्रसङ्गसँग मैले मेरो स्थितिलाई दाँज्न खोजेको भने हुँदै होइन । मैले जे देखेँ, जे अनुभव गरेँ त्यही विषयलाई उठान मात्र गर्न खोजेको हुँ । त्यही सन्दर्भलाई गोरखा भर्तीको विश्लेषणमा जोड्न ल्याएको छु ।
प्रसङ्ग १ सँगको सम्बन्ध लाहुरे बन्ने प्रवृत्तिसँग जोडिन आउँछ । सुरुआतको दिनमा शारीरिक रूपमा तन्दुरुस्त युवाहरू भर्ती लाग्थे । पछिल्लो समय शैक्षिक योग्यता पनि अत्यावश्यक भएको छ । त्यससँगै लाहुरेको संख्यामा पनि भारी कटौती हुँदै आएको छ । हालै मात्र पनि बेलायतमा सुरक्षा पुनःसंरचना योजनाअन्तर्गत भन्दै चार सय गोरखा सैनिकलाई कटौतीमा पारिएको छ ।

खासगरी समस्या यस्तै–यस्तै परिस्थितिले उत्पन्न गराएको छ । दुई-चार जनाका लागि हजारौँ आदिवासी जनजाति युवा लाहुरे बन्ने चक्करले ‘घर न घाटको’ भएको अवस्था छ । राई, लिम्बु, गुरुङ, मगरलगायतका समुदायका युवाका लागि लाहुरे बन्ने त ठूलो लक्ष्य नै बन्दै आएको छ । यसकारण लाहुरे बन्ने रहरले केहीलाई त सहरको बास गरायो नै धेरैलाई त कहर भोगाएको देखिन्छ । मैले मेरा गाउँका धेरै अग्रजहरूको पोखराबाट फर्किएपछिको अवस्था पीडादायक देखेको छु । उनीहरूमा सानैदेखि लाहुरेको छाप बसाइएकाले त्यस्तो अवस्था आएको पक्कै हो । राज्यले आदिवासी जनजातिमा यस्तो प्रवृत्ति बसालिदियो कि उनीहरूको लक्ष्य देशको उच्च ओहोदामा पुग्छु भन्ने नै हुँदैन । ‘आदिवासी जनजाति युवाहरूले त लाहुरे भई रेमिट्यान्स भित्र्याइदिएर अर्थतन्त्रमा टेवा पो पु¥याउनुपर्छ ।’ यो राज्यप्रतिको आक्षेप-आक्रोशमात्र होइन कि तीतो यथार्थ पनि हो ।

१९ औँ शताब्दीको सुरुआतदेखि गोरखा सैनिकका रूपमा नेपालीले बेलायतको अह्राउखटाउमा (पहिले इस्ट इन्डिया कम्पनी र त्यसपछि ब्रिटिस इन्डिया आर्मीमा) काम गर्न थालेको इतिहासले देखाउँछ । तर, राज्यले ‘गोरखा भर्ती जाऊ’ भनेर त्यसपछि ‘ती नागरिक’को हकअधिकारका लागि आवाज उठाउन सकेको छैन । त्यसपछि पनि सन् १९४७ मा भारत ब्रिटिस नियन्त्रणबाट स्वतन्त्र हुने क्रममा गोरखा रेजिमेन्टलाई पनि इन्डिया आर्मी र ब्रिटिस आर्मीमा विभाजन गरियो । त्यसबेला इन्डिया आर्मीमा छ र ब्रिटिस आर्मीमा चार युनिट बनाइएको थियो । त्यही क्रममा भएको त्रिपक्षीय सम्झौतामा पनि नेपाल पक्ष (राज्य) सम्झौताको साक्षी बस्नुभन्दा अरू केही हुन सकेको देखिएन ।

ब्रिटिसले विगतमा आफ्नो साम्राज्य विस्तार गर्न गोरखा सैनिक प्रयोग गरेको भन्नेमा दुई मत छैन । तर, उसले युद्धको समाप्तिसँगै भर्ती संख्या घटाउँदा राज्य मौनता साँध्छ । यदि नेपाली नागरिकलाई गोरखा सैनिकमा पठाएर रोजगार बनाउने उद्देश्य हो भने त भर्ती संख्या बढाउन पहल गरोस् न राज्य ! किन मौन रहन्छ ? गोरखा भर्तीका कारण यहाँका हजारौँ युवा प्रताडित बन्दा फेरि मौन नै रहन्छ राज्य । पछिल्लो समय गोरखा सैनिकहरूले आफ्नो सेवासुविधालगायतका विषयमा आवाज उठाउँदा पनि राज्यले प्रभावकारी भूमिका निर्वाह गर्न सकेन ।

प्रसङ्ग २ मा उप्किएको ‘गधा र गोरु’ को सन्दर्भ सांकेतिक रूपमा आएको हुन सक्छ । यसले के देखाउँछ भने लाहुरे बन्ने भनेको नेपाली नागरिक भएर आफू कार्यरत मुलुकको आदेश शिरोधार्य गर्ने हो । एक जना लाहुरे लेखकले कविता लेख्न जान्दछु भन्दा उनको बढुवा रोकिएको तीतो यथार्थ उदाहरणका रूपमा हामीसँग छ । कोही गितार बजाएर गाउन खोज्दा बढुवाबाट वञ्चित भएका छन् । आदिवासी जनजाति युवाका सिर्जनशीलता लाहुरे बनेपछि ‘अभिषाप’ बन्न पुगेको यो दृष्टान्त कम पीडादायक छैन । फौजीका आफ्नै परिधि पनि होलान् तर कोही पनि व्यक्तिको सिर्जनशीलतामाथि कुठाराघात गरिनु मानवअधिकार हननसँगै जोडिन आउँछ भन्ने लाग्छ । यस्तो परिस्थितिबाट गुज्रिएर आएको भए पनि पछिल्लो समय भने पल्टनमै पनि उच्च शिक्षा लिनेहरू पनि देखिएका छन् । साहित्यिक कर्म गर्ने लाहुरेको संख्या पनि बढ्दो छ । तर, यत्तिमै चित्त बुझाउनुपर्ने अवस्था भने देखिन्न ।

गोरखा भर्तीप्रतिको विमति समग्र लाहुरे समुदायको योगदानको अवमूल्यन होइन । उनीहरूको योगदानको सराहना गर्दै वस्तुस्थितिको मूल्याङ्कन गर्न खोजिएको हो । कोही सदस्य लाहुरे बनेपछि परिवारको आर्थिक अवस्था दिन दुगुना रात चौगुना भएकै पनि हो । पछिल्लो समय त गोरखा सैनिकले बेलायती सेनासरह नै मान्यता पाएको अवस्था पनि छ । उनीहरूको योगदानस्वरूप देशका विभिन्न ठाउँमा पूर्वाधार निर्माणलगायतका उदाहरणीय काम भएको पनि छ । तर, राज्यले लाहुर जाऊ भन्नुको साटो स्वदेशमै रोजगार बनाउने नीति लिएको भए उनीहरूको पनि राज्यका हरेक तहमा उपस्थिति रहन सक्थ्यो । राज्यले सही नीति नलिएकै कारण आज देश पुनःसंरचनाको अवस्थामा पुगेको यथार्थलाई हृदङ्गगम गरी अब अघि बढ्न सक्नुपर्छ । अर्कोतर्फ युद्धकालमा गोरखा भर्ती बन्द गर्नुपर्ने आवाज उठाएको माओवादी अहिले सरकारको नेतृत्वमा छ । देशको सबैभन्दा ठूलो दल बनिसकेको माओवादी आगामी दिनमा कसरी अघि बढ्छ हेर्न बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७