अझै पत्ता लागेन जिसी दम्पतीका हत्यारा, सीआइबी टोली पुग्यो पर्वत


२८ चैत्र २०८०, बुधबार
gc

काठमाडौं । पर्वतमा दम्पतीको हत्या भएको घटना १० दिन बित्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । पर्वतको जलजला गाउँपालिका–२ स्थित दह भन्ने ठाउँमा बस्ने ६९ सूर्यबहादुर घर्ती (जिसी) र उनकी ६७ श्रीमती गमला घर्तीको हत्या भएको १० दिन बितिसक्दा समेत आरोपी पहिचान हुन सकेको छैन ।

दम्पतीको चैत २० गते बिहान घरभित्रै शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार अनुसन्धान अझै जारी छ । तर त्यसबारे बताउन मिल्ने गरी कुनै उपलब्धी भइनसकेको उनले बताएका छन् । ‘अहिले नै भन्न मिल्ने गरी केही छैन । हामी अनुसन्धान गर्दैछौं,’ उनले सुनाए, ‘हामीले विभिन्न कोणबाट हेरिरहेका छौं ।’

यस घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले पनि पर्वत पुगेको छ । प्राविधिक अनुसन्धान गर्नका लागि सीआइबीको टोली पर्वत पुगेको हो । अहिले सो टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले संयुक्त अनुसन्धान थालिसकेका छन् । डीएसपी भुसालले यो घटना लुटपाटका लागि भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको बताएका थिए । उक्त घरमा श्रीमान–श्रीमती मात्रै बस्थे । उनीहरूको घर नजिकै अन्य घरहरू छैनन् ।

घटनास्थलबाट मृतक सूर्यबहादुरले लगाउने गरेको सुनको औंठी हराएको छ । प्रहरीका अनुसार गमलाले लगाउने गरेको सुनको सिक्री र कानमा रहेको मुन्द्रा पनि भेटिएको छैन । परिवारका सदस्यले ती सुनका गहना हराएको बताएका छन् । त्यसकारण उनीहरूको हत्या कसैले लुटपाट गर्ने उद्देश्यले गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक विश्लेषण छ ।

लुटपाट गरिएका गहना पनि अझै फेला पर्न सकेको छैन । त्यसका लागि प्रहरीले विभिन्न ठाउँहरूमा पत्राचार समेत गरेको छ । यो घटनामा एक जना व्यक्तिको मात्रै संलग्नता हो वा बढीको संलग्नता हो भन्नेबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा प्रयोग भएको हतियार पनि बरामद गरेको छ । प्रहरीका अनुसार हत्या गर्न हँसियाले टाउको र घाँटीमा प्रहार गरेको देखिन्छ ।

सूर्यबहादुर खाटमा मृत फेला परेका थिए । गमला भुइँमा घोप्टो परेको अवस्थामा फेला परेकी थिइन् । प्रहरीले घर परिवार, आफन्त, छिमेकीलगायत विभिन्न व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ । अनुसन्धानकै लागि प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिमप्राप्त कुकुरसहितको टोली पनि खटाइएको थियो । उनीहरूको हत्या चैत १९ गते रातितिरै भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटना भइसकेपछि आशंकित व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम प्रहरीले गरिरहेको छ । अहिलेसम्म करिब डेढ सय जनासँग सोधपुछ गरिसकेको प्रहरीको भनाइ छ ।

‘ल्याउने र सोधपुछ गर्ने काम सुरुबाटै भइरहेको छ । यसबीचमा करिब डेढ सय मान्छेसँग सोधपुछ गर्‍यौँ । तर हामीलाई शंका मात्रै लागेर भएन प्रमाणले ठहर गर्नु पर्‍यो । बिना प्रमाण ठ्याक्कै यसले नै हो हत्या गरेको भन्न गाह्रो हुन्छ । पहिले पहिले बयानमुखी अनुसन्धान हुन्थ्यो तर अहिले प्रमाणमुखी हो । कुनै पनि केसमा प्रमाणले सपोर्ट गर्न पर्‍यो,’ डीएसपी भुसालले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७