गोर्खाली दिग्विजयको गाथा


२४ जेष्ठ २०७५, बिहीबार
कमलमणी दीक्षित
  • कमलमणी दीक्षित

खुकुरीले आफ्नै मातृभूमिको रक्षा गथ्र्यो भन्ने कुरा नेपालीहरूका लागि कथा भएको धेरै भइसक्यो । उन्नाइसौं शताब्दीको सुरु देखि नै खुकुरीले परचक्री रणक्षेत्रको सेवा गरेको छ । वास्तवमा ‘नुनको सोझो’ भन्ने भनाइसित बहादुरीका गाथा होइनन् आज्ञाकारिताको कथा छन् । झन्डै भाडाका सिपाहीका रुपमा (औपचारिक स्वीकृतिहरूबाटै) अरुका लागि लडाइँ गर्ने कुरामा गौरव गर्नैपर्दछ भन्ने क्यै छैन । तर, धेरै मानिसहरू ‘गोरखा भन्ने नाम नै बहादुरी र सहनशीलताका लागि हो’ भन्ने बेलायतका राजकुमार चाल्र्सको भनाइसित सोझै सहमत देखिन्छन् ।

कमलमणी दीक्षित

अन्तर्राष्ट्रिय फोटोग्राफर सान्ड्रो टुचीले पहाडका सिपाहीहरूका बारेमा आफ्नो दामी किताबको परिचयमा ‘गोरखाहरू त्यस पवित्र भूमिका सन्तानहरू हुन् जहाँ पर्वत र फूलहरू, नदी, सुगन्धहरू सबै सौन्दर्य र शान्तिका शाश्वत भाषामा कुरा गर्दा झंै देखिन्छन्’ भनेर लेखेपछि हिमाली ‘साङग्रिला गाथा’ र ‘गोरखा गाथा’ ठ्याम्मै एकै ठाउँमा जोडिन्छन् ।

बम्बइदेखि बरेली हुँदै बक्सरसम्मका मानिसहरूले ‘गोरखा’हरूलाई गरिने व्यवहार देखेपछि टुचीको सोचाई चकनाचुर हुन्छ । अंग्रेजहरूले मधेसतिरका मानिस पनि ‘गोरखा’ भनेको पहाड खण्डको एउटा सुरो जाति हो भनी ठान्छन् । अंग्रेज र भारतीय गोरखाहरू सम्बन्धी विचार उस्तै होला तर यसको उपयोग चाहिँ बेग्लै ढंगले भएको छ । यसमा गर्व गनुपर्ने साहसी जातिको सुर्‍याई मधेसतिर गौरवशाली सैनिक सेवाको लागि उपयोग भएको पनि छ । तर, धेरैजसो तिनीहरूलाई गोदामघरका पाले, ‘साहेब’का छोराछोरीलाई स्कुल लानेल्याउने अरौटे, ढोकामा रखवारी गर्ने अथवा जाडोगर्मी क्यै नभनी रातबिरात रमन घुम्ने पाले बनाइएको छ ।

गोरखालीहरूको आख्यानको यस्तो समीक्षाले गोरखा फौजलाई बन्दै गर्नुपर्छ भन्ने सल्लाह दिँदैन । यो खाली गोरखा गाथाका सस्ता कुराबाट अलग रहेर पहाडी तन्नेरीहरू आफ्नो घरद्वारा छोडेर ‘लाहुरे’ हुन हिँड्छन् र कालान्तरमा मधेसका सहरहरूतिर दर्बानको जागिर भेटाउँछन् भन्ने कुरालाई समाजिक र आर्थिक दृष्टिमा बुझ्ने प्रसाय मात्रै हो ।

गेलीपोल्टी (टर्कीं) र टोब्रुक (उत्तर अफ्रिका) का रणक्षेत्रमा भएका गोरखालीहरूका चिहानले गोरखाली दिग्विजयको गाथालाई मिथ्था बनाइदिए । नपत्याउँदो रूपले शूरा बनाएका कथाहरूले नेपाली सिपाहीहरूमा मानवीय गुण र दोष नभएको नै देखाउन खोज्छन् । अरु सिपाहीहरुलाई जस्तै गोली देखेर तर्साउन पाउने हकबाट कोही कसैले उनीहरूलाई बञ्चित राख्नसक्छ ? अथवा ज्यान फालेर शत्रुको बङकरमा होम्मिने काम कति उचित छ भन्ने छ्यानपहिचान गर्न सक्ने हकबाट उनीहरू कसरी वञ्चित राख्न सकिन्छ ?

गोरखालीहरूका बारेमा थुप्रै लेखिएका छन्, तर ती मध्यै धेरै थोरै मात्रै गुरुङ, तामाङ वा राई लिम्बूका मानवीय पक्षलाई केलाएका छन् । दोस्रो महायुद्ध इटालीमा गोरखालीहरूको नेतृत्व गरेको अग्रेव इडि स्मिथको इभन द ब्रेभ फल्टर (बहादुर पनि डराए) भन्ने एउटा किताब छ । ‘हँसिँला र रवाफिला गोरखाहरूले’ असंख्य प्रंशसायोग्य कामहरू गरेको स्मिथ स्वीकार गर्छन् । उनले के लेखेका छन् भने, ‘तथापि संसारलाई देखाइएको चित्र अलि बेग्लै छ, नेपालका सिपाहीहरू शूरा छन् ठीक छ । तर, ज्यानको बाजी थापेर आफ्नो लक्ष्यसम्म पुग्ने धेरै छन् भने लाडाइँका बेला सामुन्ने मृत्यु देखेर भाग्ने पनि कम्ती छैनन् ।’ मानिस सद्दे र साधारण भएका खण्डमा हुनुपर्ने त वास्तवमा यस्तै हो ।

साभार : हिमाल खबर मासिक (बैसाख–जेठ, २०५४)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७