पूर्वराजाको नयाँ वर्ष शुभकामना : गम्भीर भएर सोंचौं, सबै कुराको पुनरावलोकन गरौं

‘विधि, शब्द र रूप जति बदलिए पनि गुणात्मक परिवर्तन हुन सकेन’


३० चैत्र २०८०, शुक्रबार
Gyanendra sha

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवस्था बदलिए पनि देशमा गुणात्मक परिवर्तन हुन नसकेको बताएका छन् । नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले जनताको सुख समृद्धिमा सुधार नहुनु चिन्ताको विषय भएको टिप्पणी गरेका छन् ।

‘नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रुप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन सकेको छैन । आज आम नेपालीको चिन्ता यही विषयमा छ । न देशको गौरब गरिमा बढेको छ, न त देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार आएको छ । जान्ने बुझ्ने बुढापाकाहरु अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन् त नयाँ युवा पुस्ता देशमा आफ्ना सुनौलो भविष्य नदेखेर भौंतारिएका छन्,’ पूर्वराजा शाहले भनेका छन् ।

देशको युवा शक्ति पलायन हुँदै जानु गम्भीर विषय भएको उनको भनाइ छ । उनले भनेका छन्, ‘देशको बौद्धिक समाज उदासीन हुँदै जानु र होनहार युवा जनशक्ति पलायन हुँदै जानु, राष्ट्रको उत्थानका निम्ति गम्भीर जोखिमपूर्ण विषय हो। शिक्षा, स्वास्थ्य, इलम, उद्यम, उत्पादन, लगानी, व्यापार, व्यवसाय र रोजगारीको ब्यवस्था खस्किँदै जानु आजको विडम्बना हो ।’

उन्नत राजनीतिक विधिले आशा जगाउन सक्नुपर्नेमा देशमा त्यसो हुन नसकेको पूर्वराजा शाहको बुझाइ छ । उनी भन्छन्, ‘उन्नत राजनीतिक विधि विधानले उच्चत्तम उपलब्धि र आशा जगाउन सक्नु पर्दछ । जनतामा उत्साह पैदा गर्न सक्नु पर्दछ । तर हामीकहाँ दाँयाबाँया जता पनि लाग्ने, निश्चित गन्तव्य र गतिमा अडान राख्न नसक्ने अस्थिर अवस्थाले आफ्नै आशा आकांक्षा र भरोसा खल्बलिँदै गएको छ । यस्तो हुनु राष्ट्रिय चिन्ताको कुरा हो । त्यसैले अब त्यो सबै कुराको पुनरावलोकन गरौँ, गम्भीर भएर सोचौँ, सबै मिलौँ, कसैले कसैलाई निषेध नगरौँ र सही चिन्तनको माध्यमबाट निष्कर्षमा पुगौं ।’

pdf king 2081 page 0001 724x1024 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७