ज्योतिषीय नजरमा वर्ष २०८१ : राजनीतिक संकट झनै गहिरिने


१ बैशाख २०८१, शनिबार
neta dashain

काठमाडौं । ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई काल्पनिक रूपमा प्रत्येक ३० डिग्रीको फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री हुन्छ । ३६० डिग्री भ्रमण गर्दा सूर्यले १२ राशी सबैको भ्रमण गरेको हुन्छ । सूर्यले १२ राशिको भ्रमण पूरा गरी ०।० अंश हुँदै पुनः मेष अर्थात् वैशाख महिनामा प्रवेश गर्ने पहिलो दिनलाई नयाँ वर्ष भनेर मनाइन्छ ।

नेपालमा प्रत्येक वर्ग र समुदायमा नयाँ वर्ष फरक–फरक समयमा मनाउने परम्परा रहेको छ । कात्तिकदेखि वैशाख पूर्णिमासम्म विभिन्न समुदायले आआफ्नै परम्परामा नयाँ वर्ष मनाउने गर्छन् । नेवार समुदायहरूले कात्तिक महिनामा पर्ने गोवर्द्धन पूजाका दिन नयाँ वर्ष भव्य रूपमा मनाउँछन् भने अङ्ग्रेजी नयाँ वर्ष पुसको मध्यतिर नेपालसहित अन्य देशहरूमा मनाउने गरिन्छ ।

यसैगरी गुरुङहरूले पुस १५ गते, थारूले माघ १ गते, तामाङले माघ शुक्ल प्रतिपदामा, शेर्पाले फागुन शुक्ल प्रतिपदामा मनाउने गरेका छन् । विभिन्न समुदायले विभिन्न समयमा मनाउँदै आएको नयाँ वर्ष वैदिक शास्त्रीय नियमअनुसार चैत्र शुक्ल प्रतिपदादेखि नयाँ सम्वत्सर प्रारम्भ हुनेभएकोले यसै दिनदेखि नयाँ वर्ष प्रारम्भ हुने वैदिक तथा पौराणिक मान्यता छ ।
‘चैत्रे मासि जगद्ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति ।’

माथिको श्लोकलाई अध्ययन गर्दा ब्रह्माजीले सृष्टिको प्रारम्भ पनि यसैदिनबाट गरेका हुन् भन्ने बुझिन्छ । नेपालमा आधिकारिक रूपमा मान्ने वर्षलाई विक्रम संवत् भन्ने गरिन्छ । विशेष गरी आर्यावर्तका चक्रवर्ती सम्राट् विक्रमादित्यले शकहरूलाई परास्त गरी विजयध्वजा फहराएको दिनको स्मरणमा वैशाख १ गतेबाट उनको नाममा नयाँ वर्ष मनाउन थालिएको र उनको विजयोत्सवलाई चीरस्थायी तुल्याउन विक्रम संवत् र शाके संवत् प्रारम्भ भएको ऐतिहासिक मान्यता रहिआएको छ । संवत्सर परिवर्तन हुने दिनको बार र नयाँ वर्ष प्रारम्भ हुने वैशाख १ गते जुन बार पर्छ त्यसैका आधारमा वर्षका राजा र मन्त्री चयन हुने ज्योतिष शास्त्रीय नियम रहिआएकाले यस वर्ष राजा मंगल र मन्त्री शनि रहेका छन् ।

ज्योतिषीय आधारमा नयाँ वर्ष २०८१

रोगवृद्धिः प्रजायेत कालयुक्ते विशेषत :।
राजयुद्धं भवेद घोरं वृष्टिर्घोरा वरानने ।।

ज्योतिषीय आधारमा नयाँ संवत्सरको फल विचार गर्दा यस वर्ष ‘कालयुक्त’ नामक संवत्सर ५२औ संवत्सरका रुपमा वर्षभरि रहनेछ । नयाँ सम्वत्सरको फल विचार गर्दा समाजमा भय तथा अराजकता अधिक हुने देखिन्छ भने आर्थिक संकट झनै गहिरिँदै जाने योग बनेको छ ।

हरेक क्षेत्रमा हुने मूल्य वृद्धिका कारण आम नागरिकले कठिनाइ वर्षभरि नै झेल्नुपर्ने देखिएको छ । वर्षामा एकरुपता नहुँदा कतै थोरै त कतै भारि वर्षाका कारण नागरिकले सास्ती भोग्नुपर्ने योग रहेको छ । प्रतिपक्षीहरुले शक्ति प्रदर्शन गरिरहनाले जनताका लागि यो बर्ष कष्टकर रहने संवत्सरको फलमा उल्लेख गरिएको छ । वर्ष प्रारम्भबाटै दुई गुरु एउटै महिनामा अस्त हुनुलाई पनि राम्रो र शुभ संकेतका रुपमा हेरिएको छैन । रोजगारि र अध्ययनका लागि विदेश जाने क्रम रोकिने छैन। विशेष गरी आफूअनुकुल नियम बनाउन खोज्दा सरकारले पुस मसान्तसम्म निकै कठिनाइको सामना गर्नुपर्ने देखिएको छ ।

लामो समयदेखि जोखिममा रहेको सेयर बजारमा असार २० पछि लयमा फर्कने कोशिस गर्नेछ । शनिबार र मंगलबारबाट महिना प्रारम्भ हुनुलाई राम्रो र फलदायी मान्न नसकिने हुँदा बर्ष २०८१ भर यो अवस्था दोहोरिरहने छ । शनिको उच्च प्रभाव वर्षभरि परिरहनाले देश विकासको चासो विदेश बस्नेहरुले गर्ने सम्भावना रहेकाले नयाँ परिवर्तन हुने सम्भावना देखिन्छ ।

नयाँ संवत्सर प्रारम्भ हुने दिन जुनबार पर्छ त्यही बारका अधिपति देवता वर्षको राजा र वैशाख सङ्क्रान्तिको दिन जुनबार पर्छ त्यो बारका अधिपति देवता वर्षको मन्त्री हुने शास्त्रीय नियमलाई आधारमान्दा यसवर्षका राजा (शासनाध्यक्ष) मंगल ग्रह वर्षभरि नै राजाको भूमिकामा रहने छन् । वैशाख १ गते शनिबार परेकाले वर्षभरि शनि ग्रह मन्त्री पदमा आसीन हुनेछन ्। अतः राजा मंगल र मन्त्री पदमा शनि ग्रहको वर्षभरि नै आधिपत्य रहनेछ । वर्ष मिश्रित फलदायी रहने संकेत देखिएको छ ।

वर्षका राजा मंगल ग्रहको फल

अग्नि–तस्कर–रोगाढयो नृपविग्रहः दायकः।
गतसस्यो बहुव्यालो भौमाब्दो बालहा भृशम्।।

वर्षका राजा मंगल ग्रह वर्षभरि राजाको भूमिकामा शक्तिशाली पदमा रहने छन् । राजा र मन्त्री दुबै एक अर्काकामा बिरोधि ग्रह भएकाले सरकार बनाउने र भत्काउनेमा नै सम्पूर्ण शक्ति लगाइने भएकाले जनतामा नैराश्यता र आक्रोसको भावना पैदा हुनेछ । अग्निभय, सवारी तथा हवाई दुर्घटनामा वृद्धि हुनुका साथै चोरडाँकाको भय शासकहरुमा विग्रहको मनस्थिति पैदा हुने, रोगव्याधिको उच्च प्रकोपको सामना गर्नु पर्ने वर्ष रहेको छ । कर्मचारीहरुमा निरासापन, पहेंला वस्तुको मुल्य निरन्तर बढ्दै जाने जस्ता प्रभावहरू निरन्तर हुने सम्भावना रहेको छ ।

वर्षका मन्त्री शनि ग्रहको फल :

रविसुते यदि मन्त्रिणि पार्थिवा विनय संहिता बहुदुःखदाः। न जलदाय जलदाय जनतापदा जनपदेषु सुखं न धनं क्वचित् ।।

ग्रहहरुका न्यायाधीश शनि मन्त्रीको भूमिकामा रहनाले धर्म मान्नेहरू उल्लेख्य रुपमा वृद्धि हुनेछन् देशैभर पूजापाठ, धर्मकर्म र परोपकारका मार्गमा जनताहरु लाग्नेछन्। देशमा धार्मिक आन्दोलनको थालनी हुनेछ । खेलकुद तथा मनोरञ्जनका क्षेत्र निकै आलोचनात्मक ढंगबाट अगाडि बढ्ने छन् । अनैतिक रुपमा लाग्नेहरुलाई बचाउ गर्नेहरुका लागि शनिको नकारात्मक प्रभाव परिरहने छ । आ–आफ्नो अस्तित्त्व जोगाउन दलहरूलाई निकै मेहनत गर्नुपर्ने देखिएको छ । विदेशी चलखेल अधिक मात्रामा बढ्नेछ भने सहयोग सोचेअनुसार नहुने देखिएको छ ।

घान्येशमा चन्द्रमाको अधिकार रहने भएकोले दूध तथा तरल पदार्थमा मूल्य वृद्धि भइरहने छ । त्यस्तै सस्येश पदमा मंगल ग्रहको प्रभाव वर्षभरि नै पर्नेछ । विशेष गरी लुकाएर राखिएका महत्वपूर्ण सूचना,धन र बहुमूल्य सामाग्रीहरूको खोजीमा राज्य आफैँ बलियो रुपमा लागि पर्नेछ । फलश र दुर्गेशको जिम्मेवारी शुक्र र शनि ग्रहले प्राप्त गरेका छन्, जसका कारण विशेष गरी फलफूलहरूको उत्पादन वृद्धिले गर्दा आम जनता हर्ष, आनन्द र खुसीको जीवनमा रमाउन पाउने सम्भावना छ । देवगुरु बृहस्पतिको रसेश पदमा रहनुलाई शुभ योग मान्न सकिन्छ ।

देशका लागि जगल्लग्न कुण्डलीको प्रभाव

जगल्लग्नकुण्डलीमा लग्नेश बृहस्पति ग्रह वैसाख १७ गतेदेखि छैटौं भावमा बस्नुलाई शुभ मानिएको छैन। देशका महत्वपूर्ण निर्णयमा निकै कमजोरीको सामना गर्नुपर्ने योग रहेको । दीर्घकालिक फाइदा हुने केही ठूल्ठूला योजनाहरू प्रारम्भ हुन निकै कठिनाइ हुनेछ ।

धार्मिक, सांस्कृतिक र पारम्परिक कर्म र अनुष्ठानमा भने उल्लेखनीय वृद्धि हुनेछ । रेमिटेन्स र वैदेशिक व्यापारिक कारोबार फस्टाउनेछ। वैदेशिक सम्बन्ध सोचेअनुसर नहुने देखिएको छ । अध्ययनका लागि बाहिर जानेहरुका लागि यो वर्ष सरकार नियम परिवर्तन गर्ने कुरामा प्रयासरत हुनेछ ।

चन्द्रमास अनुसार मंगल ग्रह र शनि ग्रहको युक्तिसंगत योग तथा तथा सूर्य ग्रहमा ग्रहण योग बन्नु चाहिँ राजनीतिकर्मी र शासकहरूका निम्ति नकारात्मक मानिएको छ। सरकारी र राजनीतिक क्षेत्रबाट भएका निर्णय कार्यान्वयन हुन कठिन हुने र गलत साबित हुने सम्भावना देखिन्छ । दलहरूका बीचमा खिचातानी यथावत् रहनेछ । नेता र प्रशासकले जनतालाई आश लाग्दो योजना, कानुन र व्यवस्था प्रदान गर्न सक्ने छैनन् । न्यायालयमा शनिको प्रभाव अधिक पर्ने भएकाले सत्तारूढ दलहरुको विपरीत हुने गरी न्यायालयमा काम हुने योग रहेको हुनाले केही सचेत हुन आवश्यक छ ।

नेपालको वृश्चिक राशि मान्दा वैशाख १७ गतेबाट शुक्रको घरमा प्रवेश गर्ने देवगुरु बृहस्पतिको विशेष प्रभाव पर्ने हुँदा बृहस्पतिको प्रभावमा पर्ने जुनसुकै वस्तुको पनि मूल्य उच्च हुन सक्ने सम्भावना देखिन्छ । महिनाको प्रारम्भ नै शनि मंगलको युक्ति परेकाले विशेष मेसिनरी सामान चलाउनेहरुले सावधानी अपनाउनु पर्ने छ ।

त्यस्तै मेसिनरी र यातायातको व्यवसाय कर्ताले सजगता अपनाउन पर्ने हुन्छ भने राज्यले मेसिनरी सामानबाट असोचनीय घाटा व्यहोर्न सक्ने सम्भावना रहेको छ । समग्रमा ग्रहगत रूपमा बनका योगहरूलाई शास्त्रीय विधि र पद्धतिका आधारमा निराकरण गर्न सक्ने हो भने आगामी वर्ष २०८१ नेपाल राज्य र नेपाली जनतालाई उन्नतिको नयाँ मार्ग पहिल्याउन निकै मद्दत गर्ने वर्ष बन्ने छ। सम्पूर्णमा नव वर्ष २०८१को हार्दिक शुभकामना ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७