इन्द्रवतीदेखि थेम्स किनारासम्म


२ बैशाख २०८१, आईतवार
Lila

हाम्रा अग्रज अतिविशिष्ट व्यक्तित्व वैरागी काईला, सुप्रशिद्ध कवि श्रवण मुकारुङ, अमर तुम्याहाङ, येहाङ लावती दाई लगायत अग्रजहरु आज धेरैपछि एउटै मञ्च पाउँदा असाध्यै खुसी लागेको छ । यो संयोगका लागि लेखकदय लीला सेलिङ माबो र भीमकुमार सेलिङलाई हार्दिक आभार धन्यवाद दिन चाहन्छु । साथै भर्खरै लोकार्पण गरिएका कृति ‘ओयाम दर्पण’ र लिम्बू भाषाका कविता संग्रह ‘सेप्म्माङ्लक’ पुस्तकको पूर्ण सफलताको कामना गर्दछु ।

फूलको बारेमा सामान्य चासो राख्नु हुन्छ भने तपाईलाई पक्कै थाहा हुनुपर्छ लाहुरे फूलको बारेमा । मेक्सिको, मध्यअमेरिका र कोलम्बियाका रैथाने यस फूलको खास नाम डालिया हो । यो सुन्दर फूल डालियाको नेपाली नाम लाहुरे फूल कस्ले राख्यो ? मेरो विचारमा विश्वयुद्ध लड्दै त्यतातिर पुगेका लाहुरेहरुले यो फूल नेपालसम्म ल्याइपुर्याएको हुनुपर्छ । त्यहि भएर डालियाले नेपालमा लाहुरे फूल नाम पाएको हुनसक्छ । पहिला पहिला हाम्रो समाजमा लाहुरे फुल जतिकै सुन्दर थिए लाहुरे बिम्ब । र उनीहरुको परिवारमा जोडिएर सपनाको सहर ब्रुनाई, लण्डन उडिगएपछि सारा दुःखहरु सकिए सोच्थे । त्यतिबेलाका समाजले बनाएको यो एउटा मानक थियो ।

समाजसेवी, अध्येता, लेखक लीला सेलिङ माबोले पहिलो पटक साहित्यमार्फत लाहुरे फूल जतिकै सुन्दर लाहुरेहरुको बिम्बभित्र कष्टहरुका पहाड रहेको उजागर गर्नु भयो । कविता संग्रह ‘लाहुरेनी पीडा’ सन २०१४ मा प्रकाति भएपछि त्यसको धेरै कोणबाट डिसकोर्ष भए । त्यो कविता संग्रहमा संग्रहित कविताहरुले सुन्दर आवरण भित्र लुकेर बसेका पीडाहरु पटाक्षेप गर्यो । देखाउन पनि नसकिने, भन्न पनि नसकीने लाहुरे समुदायभित्रका पीडाका लाभाहरु लीलाले पस्कने साहस गरेकै कारण त्यो कविता कृति धेरै देशहरुमा पुरस्कृत समेत भए ।

पहिला पहिला हाम्रो समाजमा लाहुरे फुल जतिकै सुन्दर थिए लाहुरे बिम्ब । र उनीहरुको परिवारमा जोडिएर सपनाको सहर ब्रुनाई, लण्डन उडिगएपछि सारा दुःखहरु सकिए सोच्थे । त्यतिबेलाका समाजले बनाएको यो एउटा मानक थियो ।

लेखककै बारेमा बोल्न उभिएपछि, सर्वप्रथम म उहाँको संक्षिप्त परिचयतिर लाग्छु । उहाँको जन्म याङवरक गाउँपालिका वडा नम्बर ३, पाँचथर । साविक ओयाम गाविसमा भएको हो । गुप्तेशवर उच्च माविका पूर्वप्रधानाध्यपक तथा पूर्व विव्यास अध्यक्ष एवम लेखक भीमकुमार सेलिङ र राममाया सेलिङका पहिलो सन्तानको रुपमा भएको हो । चार दिदीबहिनी तीन दाजुभाई मध्ये पहिलो सन्तानको रुपमा जन्मिनु भएका उहाँको बाल्यकाल गाउँघरमै वित्यो । प्रारम्भिक शिक्षा बुबाले अध्यापन गराउने गुप्तेश्वर माविबाट सुरु भयो । यहि शैक्षिक संस्थाबाट २०४८ सालमा त्यस क्षेत्रका एसएलसी पास गर्ने पहिलो महिला छात्राका रुपमा एसएलसी पास गर्नु भयो । एसएलसी पास गरेपछि हरेकदिन माथी सिदिङ्बाको टुप्पोमा टीका जस्तै टुप्लुक्क झुल्किएर ओरालो झर्ने घाम, तल इन्दवतीको कञ्चनपानी र मान्द्रेनीको झुलेको धान सबैसबैलाई पहिलो पटक छोडेर उच्च शिक्षाको लागि महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम झर्नु भयो ।

अक्सफोर्ड भनेपनि, हावर्ड भनेपनि, तक्षशिला भनेपनि त्यतिबेला, त्यसभेगकाले जानेसुनेको सबैभन्दा राम्रो क्याम्पस, नामी शैक्षिक संस्था त्यहि मरब क्याम्पस थियो । चियाबारीको बीचमा इलाम क्याम्पसको क्यानभास कति रोमाञ्चक थियो । इलाम क्याम्पस पढ्ने त्यो भेगका हरेक विद्यार्थीहरुको सपना हुन्थ्यो त्यो बेला । इलाम क्याम्पस, चियाबारी र विद्यार्थीले पहिरीने साडीको चर्चा आज पनि हुने गर्छ । इलाम क्याम्पस पढ्नेको नाम सुवास गाउँघरमा मात्र होइन । हङकङका ओसन पार्क हुदै लण्डनको भिक्टोरिया पार्कसम्म पुग्थ्यो । सायद त्यतैकतैका चर्चाबाट थाहा पाएर हुनसक्छ लाहुरे भेना हात माग्न आइपुगे । छिमेकी गाविस थर्पूका श्रीप्रसाद माबोसंग इलाम क्याम्पस पढ्दा ताका नै विवाह भयो । उहाँहरुको सिलिया, सिलिजा दुई छोरी र फुरुप एक छोरा रहेका छन् ।

वि.स. २०५० सालको शिक्षक सेवा आयोगमा नाम निस्किएपछि उहाँ शिक्षकका रुपमा गाउँ फर्किनु भयो । सिद्धेश्वरी प्रावि वारेबुङमा एक बर्ष र त्यसपछि धर्म भक्त प्राविका शिक्षण गर्नु भयो । त्यहाँ उहाँले प्रधानाध्यापक भएर नेतृत्व समेत सम्हाल्नु भयो । पाँचथर बहुमुखी क्याम्पसमा विए अध्ययनका साथै संघसस्थामा पनि उतिकै सक्रिय रहनु भयो । अनेमासंघ पाँचथरको कोषाध्यक्ष, शिक्षक संगठनको क्षेत्रिय सचिव र कियाचुको स्थानीय नेतृत्व समेत गर्नु भयो ।

२०५५ साल लीला सेलिङ माबोको जीवनमा नयाँ घुम्ति आयो । श्रीमानका साथ बेलायत जानु भयो । नयाँ देश, नयाँ परिवेश । सुरुका १० बर्ष निखुर गृहणीकै रुपमा वित्यो । यस बीच तीन सन्तान भए । सन्तान हुर्किर्दै गएपछि उहाँले विस्तारै आफ्नो पनि हातखुट्टा तन्काउन थाल्नु भयो । लेखन सुरु गर्नु भयो । भाषाका कारण नेपालको औपचारिक प्रमाणपत्र काम नलाग्ने भएपछि फेदैबाट पढाई सुरु गर्नु भयो । यसरी हेर्दा उहाँले लेखन निक्कै ढिलो सुरु गरेको देखिएता पनि लेखक लिला सेलिङ औपचारिक रुपमा बेलायतमा प्रस्फुटन भए तर त्यसको विजारोपण भने नेपालमै भएको थियो । विद्यालय, गाउँघरमा गीतहरु लेख्ने र प्यारोडी बनाएर गाउँने तिहारमा त्यहि गीतमा नाचगान गर्ने गराउने गर्नु हुन्थ्यो ।

जुन परिवेशमा जुध्ने हो त्यहि परिवेशमा बलियो हुनै पर्यो । जसको सुरुवात शिक्षाबाट गर्नु पर्ने थियो । उहाँले जगबाटै बेलायती शिक्षा ग्रहण गर्नु भयो । त्यसको सुरुवात उहाँले जिसिएसईबाट प्रारम्भ गर्नु भयो । क्विनम्यारी कलेजबाट जिसिएसई गरेपछि फनबरो कलेजबाट ए लेभल गर्नु भयो । त्यहिबीचमा ए टु जेट ट्रेनिङ सेन्टरबाट नर्सिङमा डिप्लोमा गर्नु भयो । संगै नर्सिङको जागिर पनि सुरु भयो । यसबीच पनि पढाईको रफ्तार भने छुटेन । युनिर्भसीटी अफ सरेबाट साइकोलोजी तथा क्र्रिमिनोजोजीमो विएससी पास गर्नु भयो । योसंगै यहाँले एकेडेमिक अवार्ड समेत हात पार्नु भयो । र पछि त्यहि युनिर्भसिटीबाट कर्पोरेट क्राइम तथा कर्पोरेट रेस्पोसिबिलिटीमा एमएससी गर्नु भयो ।

Book 1

पढाईलाई उमेर र परिवेशले छेक्दैन भन्ने कहावतलाई लीला सेलिङको यो उपलब्धीले आफै पुष्टी गर्छ । आज उहाँको हातमा अन्तर्राष्ट्रिय डिग्री छ । जब छ । लाहुरे परिवारको ट्याग भन्दा फराकिलो आफ्नै व्यतित्व निर्माण भएको छ । यी सब आफ्नै मेहनत र पौरखले निर्माण भएको हो । उहाँ सामाजिक तथा राजनीतिक रुपमा पनि उतिकै सक्रिय हुनुहुन्छ । उहाँ अहिले पनि आधा दर्जन संघसस्ंथाहरुमा हुनुहुन्छ । उहाँ अहिले आदिवासी जनजाती महासंघ, बेलायतको वरिष्ट उपाध्यक्ष, ग्रेटररस्मो नेपाली कम्युनीटी युकेको अध्यक्ष, रस्मो हेल्थी लिभिङ पहिलो नेपाली बोर्ड टस्ट्री, डाइरेक्टर, कियाचु युके पूर्व उपाध्यक्ष, कियाचु महिला कमिटी (थामेन्दिङ्मा) संस्थापक अध्यक्ष, पाँचथर सेवा समाजको सल्लाहकार, कियाचु रस्मो शाखा संस्थापक अध्यक्षका रुपमा काम गरिसक्नु भएको छ । बेलायतको स्थानीय चुनावमा लेभर पार्टीबाट काउन्सिलको दुई पटक उम्मेदवर हुनु भयो । बेलायतको यस्तो चुनावमा भाग लिने उहाँ दोस्रो नेपाली महिलाको हो ।

बेलायतमा एसियन अल्पसंख्यकहरुले भाग्नु परेको विभेदहरु भिन्न खालको छ । गोर्खा वाइफ त्यसमा पनि एकल महिलाहरुका दुःखको सेभेर्न कहाली लाग्दो बगिरहेको छ । लीला सेलिङ यहि विषयमा आफ्नो नयाँ पुस्तक लेख्दैहुनुहुन्छ ।

कविताबाट सुरु भएको उहाँको लेखन यात्रा, गीत, अनुसन्धानात्मक लेखनसम्म फैलिदो छ । उहाँको आधा दर्जन भन्दा बढी गीत रेकर्ड भएर म्यूजिक भिडियोहरु पनि आएका छन भने केहि गीतले अवार्ड समेत हात पारेको छ । अहिलेसम्म उहाँको प्रकाशित पुस्तकका रुपमा नेपाली र लिम्बू भाषामा दुई ओटा कविता संग्रह र अनुसन्धानात्मक तथा संस्करणात्मक एक पुस्तक प्रकाशित भएका छन् । प्रकाशित पुस्तक १, लाहुरेनी पीडा कविता संग्रह, २, :Memoirs of a Gurkha Wife during Lockdown  ३, सेप्म्माङ्लक (लिम्बू भाषाको कविता संग्रह । अघि नै पनि भनि सकेको छु की उहाँको पहिलो कृति कविता संग्रहले उठाएका विषयहरु निक्कै चर्चित रहे । दोस्रो पुस्तकमा कोरोना कालमा खास गरि गोर्खा महिला र एसियन अल्पसंख्यकहरुले भोग्नु परेका पीडा र अप्ठ्याराहरु समेटिएको छ ।

यो कृति समेत विश्वविद्यालय तहमा खोज अध्ययनकर्ताहरुले रुचाएका छन् र आफ्नो सोधको विषय समेत बनाई रहेका छन् । आज लोकार्पण भएको कृति सेम्म्माङ्लक लिम्बू भाषा र श्रीजंगा लिपिमा भएका कारण अधोपान्त खुट्याउन त सकिन । तर केहि छिनमा समिक्षक ज्यूहरुले थप प्रकाशन पार्नु नै हुनेछ । यति चाहि ढुक्कले भन्न सक्छु कि लीलाको लेखनमा यसले एउटा छुट्टै आयम थप्ने छ । यहाँ समेटिएका कविताहरु मध्ये लिम्बू भाषाको पाठ्यक्रम कक्षा आठमा समेत समेटिसकिएको छ । यस्तो संयोग, यस्तो भाग्य कमै लेखकहरुलाई जुर्ने गर्छ । त्यो भाग्य लीला सेलिङ माबोको पोल्टामा परिसकेको छ । बेलायत पुगेपछि लीलाले प्राज्ञिक र लेखनको क्षेत्रमा सुन्यताबाट सुरु गरेर यो उचाई प्राप्त गरेको देख्दा मार्टिन लुथर किंगको जरुर एउटा भनाईको याद आइरहेछ ।

“If you can’t fly then run,

if you can’t run then walk,

if you can’t walk then crawl,

but whatever you do

you have to keep moving forward.”

― Martin Luther King Jr.

आममान्छेलाई जस्तै लीलालाई पनि लाग्ने गथ्र्यो कुनै बेला घाम नअस्ताउने साम्राज्यका मालिक बेलायतमा सबथोक छ । दुःख त शीतको थोपा जति नी छैन । गोरखाली जसको बलमा बेलायतको महासाम्राज्य खडा भयो । उनीहरुलाई त ज्वाई जतिकै सम्मान होला । तर बेलायत पुगेपछि थाहा भयो । संसारलाई मानवधिकार र समानता सिकाउँने बेलायतमा पनि विभेद रहेछ । दिनदिनै गोर्खाहरु नै न्याय मागिरहेका थिए ।

बेलायतमा एसियन अल्पसंख्यकहरुले भाग्नु परेको विभेदहरु भिन्न खालको छ । गोर्खा वाइफ त्यसमा पनि एकल महिलाहरुका दुःखको सेभेर्न कहाली लाग्दो बगिरहेको छ । लीला सेलिङ यहि विषयमा आफ्नो नयाँ पुस्तक लेख्दैहुनुहुन्छ । इन्द्रवतीदेखि थेम्स किनारासम्म पुगेको यो फैलिदो लेखन यात्राले अझै उचाई चुम्न सकोस हार्दिक शुभकामना । नोगेन !

(काठमाडौंमा लीला सेलिङ माबोको लिम्बू भाषाको कविता संग्रह ‘सेप्म्माङ्लक’ लोकार्पण समारोहमा लेखकमाथी बोल्दै राईले व्यक्त गरेको विचारको अंश)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७