६ हप्ता युद्धविराम गरे बन्धकहरुलाई रिहाइ गर्ने हमासको शर्त


३ बैशाख २०८१, सोमबार
hamas 1
हमास लडाकु । तस्वीर : एपी

काठमाडौं । छ महिनादेखि युद्धरत इजरायल र हमासबीच युद्धविरामको प्रयास सफल हुन सकेको छ । हमासको कब्जामा रहेका इजरायली नागरिकहरुलाई छुटाउन इजराइलले राखेको प्रस्ताव अस्वीकार गरेको हमासले युद्धविरामका लागि नयाँ प्रस्ताव अघि सारेको छ । हमासले इजराइली बन्दीहरुको रिहाइका लागि इजरायली रक्षा बलले गाजामा भइरहेका आक्रमण रोक्नुपर्ने र शहरी क्षेत्रहरूबाट ६ हप्तासम्म फिर्ता हुनुपर्ने शर्त राखेको हो ।

एक मिडियाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हमासले युद्धविराम र बन्धकहरूको रिहाइको लागि मध्यस्थकर्ताहरुमार्फत् यस्ता शर्त अघि सारेको हो । हमासले १२९ जना बन्धकहरुलाई रिहा गर्नुअघि इजरायलले छ हप्ताको युद्धविराम गर्नुपर्ने माग गरेको हो । तर इजरायली सरकारको भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । हमासले ६ हप्तासम्म युद्धविराम गरेपछि मात्रै इजरायली नागरिकहरूलाई रिहा गर्ने भनेको हो ।

त्यस्तै, प्रति इजरायली नागरिकका लागि ३० प्यालेष्टिनी बन्दी रिहा गर्नुपर्ने हमासको शर्त छ । साथै, यसले प्रत्येक कब्जा गरिएका सैनिकहरूको लागि ५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नुपर्ने भनेको छ । हमासले अक्टोबर ७ मा इजरायली सहरहरूमा पाँच हजारभन्दा बढी रकेट प्रहार गरेर आक्रमण सुरु गरेको थियो । यसपछि हमासका आतंककारीहरूले इजरायलमा प्रवेश गरी मानिसहरुको हत्या गरेका थिए ।

यसको जवाफमा इजरायलले गाजामा हमासका आतंककारीहरूविरुद्ध कारबाही सुरु गरेको थियो । यस अपरेसनमा गाजामा हमासको स्थानमा व्यापक बमबारी भयो, जसका कारण गाजाको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ । इजरायल र गाजामा हालसम्म ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७