सांसदहरुलाई ओलीको सुझाव : नमस्कार कहिले गर्छ भनेर ‘अररो’ बस्ने होइन, जनतासँग विनम्र बन्नुहोस्


३ बैशाख २०८१, सोमबार
amale 2

काठमाडौं । सत्तारुढ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय समिति बैठकमा प्रभावकारी भूमिका खेल्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । आज (सोमबार) एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सबै समिति बैठकमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका हुन् ।

‘माननीय ज्यूहरूलाई भन्न चाहन्छु । समितिका बैठकहरू बसिरहेका हुन्छन् । समितिका बैठकमा हाम्रो भूमिका प्रभावकारी हुनुपर्छ । हाम्रो सहभागी सक्रिय हुनुपर्छ । संसदको भोलि इतिहासमा गएर हेर्दा पनि संसदको गरीमा यस्तो पो गरेको रहेछ भन्ने अवस्था नबनोस् । पहिले नै यो बुद्धि पुर्‍याएर काम गर्नुहोला ।’

अध्यक्ष ओलीले माननीय जनताको सेवक भएको बताएका छन् । अध्यक्ष ओलीले माननीय भएर नमस्ते कहिले गर्छ भनेर पर्खेर नबस्न निर्देशन दिएका छन् । उनले भने, ‘जनतासँगको भेटघाट बढाउनु होला । माननीयजीलाई दर्शन भेट गर्न आउन् मान्छे, नमस्कार गरुन् त्यो पर्खेर बस्ने होइन । माननीयजी भनेको जनताको सेवक हो । तीनै जनताले भोट दिएर पठाएको मान्छे हो । ती जनताका अगाडि हिजो निर्वाचनमा भोट माग्दा अगाडि कसैले प्रणाम गरेकै होला । कसैले गोडा समातेर ढोगेकै होला, निहुरिएकै होला, झुकेकै होला । अनि माननीय भइसकेपछि चाहिँ अररो भएर बस्ने होइन । शैलीमा विनम्र हुनुपर्छ । हात जोड्दा केहि बिग्रिँदैन ।’

उनले भने, ‘कहिले कहिले स्वार्थ समूहले प्रभावित गर्छ । स्वार्थ समूहलाई हामीले बुझ्नु, सुन्नु आवश्यक हुन्छ । काम फेरि उनीहरूसँग गर्ने हो । हामीले बनाउने कानुन पनि तीमार्फत बनाउने हो,’ ओलीले भने,’ अर्को कुरा के भने उनीहरूले आफ्नो संकीर्ण हित हेरेका हुन्छन् । उनीहरूका हितहरू हावी भए राष्ट्रिय हितहरू ओझेलमा नपरुन भनेर हामीले सोच्नु पर्छ । समितिमा छलफल गर्दा होस् वा अन्य काम गर्दा ध्यान दिनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७