सहकारीपीडितको गुनासो : दुःखले जम्मा गरेको पैसा फिर्ता नपाउँदा परिवारमै बोलचाल बन्द भइसक्यो

‘सरकारले गरिब जनताको आवाज कहिले सुन्छ ?’


३ बैशाख २०८१, सोमबार
sahakari pidit

काठमाडौं । सहकारी पीडितहरुले सहकारीमा जम्मा गरेको रकम नपाउँदा परिवारभित्रै सम्बन्ध बिग्रिएको गुनासो गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी बचतकर्ताहरुले आफ्ना नातेदार र परिवारका सदस्यहरुले विदेशमा गई पठाएको पैसा सहकारीमा राखेको तर सहकारीबाट अहिले रकम निकाल्न नपाएपछि पारिवारिक कलह शुरु हुन थालेको बताए ।

पत्रकार सम्मेलनका क्रममा एक सहकारी पीडितले विदेशबाट आफ्ना भाइले पठाएको रकम सहकारीमा जम्मा गरेको तर अहिले आफूले निकाल्न नपाएको बताएका छन् । उनले भाइले अहिले पैसा बारम्बार मागिरहेको र पैसा दिन नसक्दा भाइ नै रिसाएर बोल्न छोडेको बताए । उनले आफूले सहकारीमा दुःख गरेर जम्मा गरेको पैसा पाऊँ भनेर सिंहदरबारसम्म धाउँदा पनि सरकारले बेवास्ता गरेको गुनासो गरे ।

उनले भने, ‘विदेशबाट भाइले पठाएको पाँच लाख रुपैयाँ सहकारीमा जम्मा गरेको थिएँ । अहिले भाइले पैसा मागेको छ । तर मसँग दिने पैसा छैन, भाइ मसँग रिसाएको छ । बोलचाल छैन । सिंहदरबारसम्म पुगेँ, गुनासो लिएर तर म एक्लैको कुरा केही सुनेन । पुलिसले पनि सुनेन । हामी अरुको भाँडा माझेर खाने मान्छेको एक रुपैयाँ गरेर जम्मा गरेको पैसा मैले पाइनँ । सरकारले गरिब जनताको आवाज सुनेन । हामी गरिब दुःखीको कुरा कहिले सुनुवाई हुन्छ ?’

उनीहरुले आफूले दुःख गरेर जम्मा गरेको रकम खाएर हिँड्ने छुट कसैलाई नरहेको भन्दै सरकारले तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । उनीहरुले सरकारले गरिब जनताको दुःख नसुनेको आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७