गगनको टिप्पणी : सहकारी ठगीको नाम लिँदा कसैले खुट्टा उचालेका छन्, नबिराउनू, नडराउनू

‘कांग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबारतिर हेर्नु पनि हुँदैन


३ बैशाख २०८१, सोमबार
gagan 1

कैलाली । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले एक वर्ष बालुवाटार र सिंहदरबारतिर फर्किएर हेर्न नहुने बताएका छन् । आज (सोमबार) कैलालीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबार नहेरीकन जनताको काममा ध्यान दिनुपर्ने बताएका हुन् । उनले ०८१ सालमा सरकार बनाउने खेलमा काँग्रेस लाग्नु नहुने बताए ।

उनले एक वर्ष नेकपा एमालेसहित नेकपा (माओवादी केन्द्र) र अन्य नयाँ राजनीतिक दलहरुलाई सत्ता सञ्चालन गर्न दिनुपर्ने बताए । ‘२०८१ साल एक वर्ष नेपाली काँग्रेसले बालुवाटारतिर हेर्दै नहेरोस् । बालुवाटार आयो की आँखा चिम्म गरेर अघि गइहालौं, महाराजगञ्जतिर गइहाल्ने । हेर्दै नहेर्ने । सिंहदरबारतिर पनि हेर्दै नहेर्ने । एक वर्ष ०८१ माओवादी, एमाले साथीहरु मिलेर सरकार चलाउन दिनुस् । चलाउनुस् ।’

उनले सरकारमा नयाँ आएकाहरुले कांग्रेसले सरकार छोड्यो अब चमत्कार हुन्छ भन्ने जस्ता भ्रम छरिरहेको पनि बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै आफू नेता हुना साथ, प्रधानमन्त्री र मन्त्री हुनासाथ सबै काम जादुगरझै गर्न सक्छु भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए ।

‘अहिले नयाँ आएका सरकारका साथीहरुले जताततै अब चमत्कार हुन्छ, अस्तीसम्म कांग्रेस भएकाले नभएको हो, अब कांग्रेस गयो, राम्रो हुन थाल्यो भन्ने छ । त्यो बेकारको कुरा हो । हामी हावादारी कुरा गरिरहेका छौँ नि’ उनले भने, ‘म नेता, प्रधानमन्त्री हुनासाथै, म आउना साथै म जादुगर हो, मैले अब जादु गर्छु । अब म कतार, मलेसिया, सबैको स्टिकर टाँसेर नेपाल ल्याउँछु भनेर अर्को फेरि आयो । हामी देको देइ गर्न थाल्यौँ क्या ।

उनले सहकारीले ठगेको रकम फिर्ता गरेर पीडितमाथि न्याय दिनुपर्ने जिम्मेवारी रहेको बताएका छन् । महामन्त्री थापाले नागरिकहरुको न्यायको लागि काँग्रेसले आवाज उठाउने बताए । ‘केही मानिसहरुले सहकारीको रकमको यति दुरुपयोग गर्ने अवस्था बन्यो । जसको कारणले हजारौँ मानिसहरु सडकमा आइपुगेका छन् । ती मानिसहरुलाई न्याय गर्नुपर्नेछ, फिर्ता गर्नुपर्नेछ’ उनले भने, ‘न्यायको आवाज हामी बन्नु पर्छ । काँग्रेस, एमाले, माओवादी भन्दिनँ । हामी दुई महिना अघिसम्म सरकारमा थियौँ, सकेनौँ नि त ।’

महामन्त्री थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई लक्षित गरेर सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दा आफैं खुट्टा उचालेको टिप्पणी गरेका छन् । उनले छानबिनको माग गर्दैमा कोही तर्सिनु नपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७