गठबन्धनमा खटपट बढिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका नेता खनालबीच भेटवार्ता


४ बैशाख २०८१, मंगलवार
prachanda jhalanath

काठमाडौँ । सत्ता गठबन्धनका खटपट बढिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भेट गरेका छन् । दुई नेताबीच आज (मंगलबार) विहानै बालुवाटारमा वार्ता छलफल जारी रहेको स्रोतले जानकारी दिएको छ ।

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट विद्रोह गरेपछि वर्तमान सत्ता गठबन्धनमा संकट पैदा भएको छ । नेकपा एसका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओली सहमतिबाट पछि हटेकाले गठबन्धनबाट बाहिरिने चेतावनी दिँदै आएका छन् ।

यसै विषयमा प्रधानमन्त्री प्रचण्ड र सम्मानित नेता खनालबीच छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । एक प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने बताउँदै आएको समाजवादीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको पक्षमा उभिएपछि सो प्रदेशमा नाउपाकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

सत्ता गठबन्धनमा रहेको नेकपा एसले सुदूरपश्चिममा कांग्रेससँग सहकार्य अघि बढाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखेका छन् । हिजो पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेकपा एसले गैरराजनीतिक कदम चालेको भन्दै दक्षिणपन्थीलाई सहयोग पुगेको टिप्पणी गरेका थिए । अध्यक्ष ओलीले सदूरपश्चिममा नेकपा एसले अवसरवादी चरित्र उदाङ्गो पारेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७