सहकारी प्रकरण : अनुसन्धानमा रविले दुई करोड ऋण लिएको देखियो, किन लागेन अभियोग ?


४ बैशाख २०८१, मंगलवार
Rabi 3
फाइल फोटो

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा ऋण स्वीकृत भएको प्रहरीको अनुसन्धानमा देखिएको छ । प्रहरीले गरेको अनुसन्धानबाट लामिछानेको नाममा २ करोड रुपैयाँ ऋण स्वीकृत भएको रुपन्देही जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ ।

अभियोगपत्रमा उक्त रकम रवि लामिछानेको नाम ऋण खडा गरी २०७७ चैत एकमा गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आई.एम.ई बैंक लि. को खातामा सेवा शुल्क बापत ४ लाख कट्टी गरि संस्थाले एक करोड ९६ लाख जम्मा गरेको देखिएको उल्लेख छ ।

सहकारीमा भएको घोटालामा संलग्न ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दायर गरेको छ । तर अभियोगपत्रमा २ करोड लिएका लामिछानेको नाम भने राखिएको छैन । प्रहरीले अनुसन्धानमा लामिछानेको नाममा प्रक्रिया नपुर्‍याएर ऋण लिएको उल्लेख गरेको छ ।

सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपतिका छोरा एवं पूर्वकोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाई पाण्डे, दीपक न्यौपाने र निता थापा मागर पक्राउ परेका छन् । ५ जना बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ । गोर्खा मिडिया नेटवर्कको नाममा करोडौं रकम निकासा भएको अनुसन्धानबाट देखिएको छ । सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७