एमाले अध्यक्ष ओली आज इलाम आउँदै


४ बैशाख २०८१, मंगलवार
Ilam KP OIi

इलाम : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा आज (मंगलबार) इलाम आउने भएका छन् । इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनका लागि भोलि (बुधबार) हुने चुनावी सभालाई सम्बोधन गर्न ओली आज इलाम आउने भएका हुन् ।

एमालेले भोलि देउमाई नगरपालिकाको मंगलबारे बजारमा चुनावी सभा आयोजना गरेको छ । सभामा ओलीसहित एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव योगेश भट्टराई र कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठलगायत एमालेका केन्द्रीय, प्रदेश कमिटीका पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले जिल्ला कमिटीले जनाएको छ ।

वैशाख १५ मा इलाम क्षेत्र २ मा उपनिर्वाचन हुँदैछ । एमाले, नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलबाट साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङ छन् । ओली आजै इलाम आउने र भोलि चुनावी सभामा सहभागी हुने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

क्षेत्र २ को उपनिर्वाचनमा अहिलेसम्म एमालेका सुहाङ नै अंकगणितका आधारमा अघि देखिन्छन् । २०७९ सालमा भएको निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट विजयी भएका थिए । नेम्बाङले ३० हजार २० र तत्कालीन सत्ता गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए ।

रास्वपाका प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याएका थिए । समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र रास्वपाले चार हजार छ सय ८६ मत ल्याएका थिए ।

अहिले एमाले, माओवादीलगायत चार दलको गठबन्धन हुँदा कांग्रेस एक्लै भिड्दैछ । कांग्रेसका डम्बरबहादुर खड्का नै अहिले पनि उम्मेदवार छन् । उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७