सुदूरपश्चिम : नाउपाका दुई नेतापछि नेकपा एसका दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै


४ बैशाख २०८१, मंगलवार
Dirga sodari1652096744

कैलाली । सत्ता गठबन्धनका चार दलबीच नेकपा एकीकृत समाजवादी (नेकपा एस) का दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र समाजवादीका नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीको समर्थन लिएर सोडारी मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालय जाँदै छन् । तर प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दिएको समय सीमा यही वैशाख २ गते साँझ ५ बजेबाट सकिइसकेको छ भने उक्त अवधिभित्र नाउपाकै दुई नेता कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले बहुमत देखाउँदै मुख्यमन्त्रीमा दाबी पेस गरिसकेका छन् ।

तर एकै दलबाट दुई जनाको दाबी आएकाले निर्णय गर्न नसकेका प्रदेश प्रमुख मियाँ कानुनी परामर्शमा रहेका बेला फेरि एकीकृत समाजवादीका सोडारी मुख्यमन्त्रीमा दाबी गर्ने भन्दै प्रदेश प्रमुख कार्यालयतर्फ लागेका हुन् । आजै बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुदूरपश्चिमको अप्ठेरो फुकाउन प्रधानमन्त्रीले आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने सहमति गरेको दाबी गरेका थिए ।

त्यसपछि एकीकृत समाजवादी आफ्नो नेतृत्वमा सरकार गठनका लागि दाबी गर्ने भन्दै अघि बढेको हो । शीर्ष तहमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएपछि प्रदेशका सत्ता घटक दलहरू छलफल गरेर अहिले प्रदेश प्रमुखको कार्यालयमा गइरहेको एक नेताले बताए । यसअघि मुख्यमन्त्री पद नपाएपछि कांग्रेससँग मिलेर नाउपाको रेशम पक्षका लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउन भनी प्रदेश प्रमुखको कार्यालय गएको एकीकृत समाजवादी अहिले मुख्यमन्त्री आफैले पाउने भएपछि फेरि सत्ता गठबन्धनतिरै फर्किएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७