अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै सैनिकहरूप्रति अनुदार


प्रकाशित मिति : October 27, 2017

सैन्य इतिहासकै बलमा वर्तमान विश्वको सीमारेखा कोरिएको छ । संसारमा त्यस्ता विरलै देशहरू छन्, जसको सिमानामा रगत नबगेको होस् । सेनाकै आड–भरोसामा महाशक्ति बनेको इतिहास संयुक्त राज्य अमेरिकासँग छ । आज पनि यस देशका १४ लाखभन्दा धेरै सिपाही संसारभर लड्छन् । इराक, अफगानिस्तान, सिरियालगायत देशमा पछिल्ला वर्ष थुप्रैले ज्यानको आहुति दिइसकेका छन् । तर, अफगानिस्तानमा गोली लागेर सेनाको रगत बग्दा अमेरिकी राष्ट्रपतिको मन कति दुख्छ ? सेनाको कमान्डर इन चिफसमेत रहेका राष्ट्रपति युद्धका घाइते र सैनिक परिवारप्रति कत्तिको जवाफदेही छन् ? उनीहरूलाई कति राहत उपलब्ध गराए ? मृतकका परिवारलाई कसरी सान्त्वना दिए ?

सामाजिक सुरक्षा भत्ता र स्वास्थ्यपछि अमेरिकी बजेटको सबैभन्दा ठूलो हिस्सा सेनाका लागि खर्च हुन्छ । सन् २०१७ का लागि विनियोजन भएको अमेरिकाको कुल बजेट (४ दशमलव २ ट्रिलियन डलर) मध्ये ६ सय ३२ बिलियन अर्थात् १५ प्रतिशत बजेट सेना तथा सैनिक उपकरण खरिदका लागि छुट्याइयो । सन् २००१, सेप्टेम्बर ११ पछि अमेरिकाको सैनिक खर्च बढ्दो छ । सेप्टेम्बर ११ मा पेन्टागनस्थित अमेरिकी संसद् भवन तथा न्युयोर्कमा रहेका जुम्ल्याहा भवनमा आक्रमण भएपछि अमेरिकीहरूमा त्रास बढेको थियो ।

विक्षिप्त बनेका जनतालाई सुरक्षाको आड–भरोसा दिलाउन तत्कालीन राष्ट्रपति जर्ज डल्ब्यु बुसले आतंकवादविरुद्ध युद्ध सुरु भएको घोषणा गरे । १० वर्षपछि अमेरिकी सेनाको गोली खाएर यस घटनाका दोषी मानिएका अलकायदा प्रमुख ओसामा बिन लादेन मारिए । घटनाको १६ वर्ष बित्यो । अलकायदाको शक्ति क्षीण हुँदै गयो । तर, न आतंकवाद सकियो, न त आतंकवादविरुद्धको युद्ध नै ।

बुसपछि बाराक ओबामा र डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचित भए । आफ्ना २ कार्यकाल अर्थात् ८ वर्षसम्म पनि युद्धको छायाबाट ओबामा निस्कन सकेनन् । युद्धबाट अमेरिकालाई बाहिर ल्याउन नसकेका कारण उनले राष्ट्रपति छँदा गरेका थुप्रै राम्रा कामसमेत ओझेलमा परे । ओबामाका लागि घाँडो भएको आतंकवादविरुद्धको लडाइँकै चक्रब्यूहमा अहिले डोनाल्ड ट्रम्प फसेका छन् । राष्ट्रपति निर्वाचित भएको एक वर्ष पुग्नै लाग्दा न उनले युद्धग्रस्त क्षेत्रबाट सेना फिर्ता बोलाउन सके, न त युद्धको समाधान नै खोज्न सके ।
अन्य देशमा सैनिक हस्तक्षेप नगर्ने तथा आफ्नै देशको विकासमा केन्द्रित हुने चुनावी घोषणा गर्न ट्रम्पलाई जति सजिलो थियो, अहिले आफ्ना वाचा पूरा गर्न त्यति नै गाह्रो छ । कार्यभार सम्हालेलगत्तै ट्रम्पले इरान, इराक, लिबिया, सोमालिया, सुडान र सिरियाका सर्वसाधारणलाई ९० दिनसम्म अमेरिका छिर्न नदिने निर्णय गरे । तर, निर्णय कार्यान्वयनमा अदालतले रोक लगायो । जनताले ठूलै आलोचना गरे । अमेरिका आफैँले लडेको युद्धमा पिल्सिएका सर्वसाधारणका लागि ढोका बन्द गर्ने ट्रम्पको निर्णयलाई धेरैले ‘अनुदारवादको चरम नमुना’ भने । यस निर्णयको विरोधमा अमेरिकाका पूर्वराष्ट्रपतिहरू तथा उच्चपदस्थ अधिकारीहरू नै खडा भएका थिए ।

विवाद सेलाएको केही समयमै ट्रम्प अर्को विवादमा फसे । अक्टोबर ४ मा नाइजरमा विपक्षीले थापेकोे एम्बुसमा परेर ४ अमेरिकी सैनिकको ज्यान गएपछि ट्रम्प आलोचनाको घेरामा छन् । यस घटनापछि थुप्रैपटक उनले ट्विटरमा स्टक मार्केटका विषयमा लेखिएका समाचार सेयर गरे । फुर्सदको समय निकालेर गल्फ खेल्न भ्याए । तर, मृतक सैनिकका विषयमा मौन बसे ।

१२ दिनपछि पत्रकार सम्मेलनमा उनीमाथि प्रश्न तेर्सियो, ‘तपार्इंले किन सान्त्वना दिनका लागि मृतक परिवारलाई फोन गर्नुभएन ?’ ट्रम्प पनि के कम, उनले अहिलेसम्म कुनै पनि राष्ट्रपतिले मृतक परिवारलाई फोन नगरेको दाबी गरे । ‘अहिलेसम्मको अमेरिकी परम्परा बुझ्दा मभन्दा अघिका राष्ट्रपतिहरूले पीडित परिवारलाई सान्त्वना दिने काम गरेको देखिएन । जस्तो बाराक ओबामाले गरेनन् । अन्य थुप्रै राष्ट्रपतिले गरेनन् । तर, म उपयुक्त समय मिलाएर फोन गर्छु,’ पूर्वराष्ट्रपतिहरूको कडा आलोचना गर्दै उनले जवाफ फर्काए । लगत्तै ओबामा कार्यकालमा उनका सहयोगी रहेका उच्च पदस्थ कर्मचारीहरूले ट्रम्पले झुट बोलेको प्रतिक्रिया दिए । मृतक सैनिक परिवारका सदस्यहरूले पनि ओबामाले राष्ट्रपति छँदा फोन गरेको प्रतिक्रिया दिए । अप्ठ्यारोमा देखिएका ट्रम्पको प्रतिक्रिया आयो, ‘सायद ओबामाले कहिलेकाहीँ फोन गरे, कहिले गरेनन् होला । यस विषयमा म सैनिक अधिकारीहरूसँग बुझ्छु ।’

अन्ततः ट्रम्पले सैनिक परिवारलाई फोन गरे । तर, जस पाएनन् । बरु, उल्टै विवाद बढ्यो । फ्लोरिडाबाट प्रतिनिधित्व गर्ने प्रतिपक्षी डेमोक्र्याट पार्टीका कंग्रेस सदस्य फ्रेडरिका विल्सनले ट्रम्पले सैनिकपत्नी माइसिया जोनसनको चित्त दुखाएको आरोप लगाइन् । ‘राष्ट्रपतिसँग फोनसंवाद गरिरहँदा माइसिया (मृतक सैनिकपत्नी) भक्कानो छोडेर रोइरहेकी थिइन् । राष्ट्रपतिलाई मृतक सैनिकको नामसमेत थाहा थिएन । उनी ‘तिम्रो केटा (तिम्रो श्रीमान्…) तिम्रो केटा… भनेर बारम्बार सम्बोधन गरिहेका थिए,’ विल्सनले भनेकी छिन्, ‘माइसिया दुई बच्चाकी आमा हुन् । उनको पेटमा समेत बच्चा छ । यस्तो परिस्थितिमा श्रीमान्ले बलिदानी दिएका छन् । तर, देशका राष्ट्रपतिलाई उनका श्रीमान्को नामसमेत थाहा छैन । म उनको पीडा महसुस गर्न सक्छु, किनकि घटना भइरहँदा हामी मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा डेभिडको शव कुर्दै थियौँ,’ १७ अक्टोबरको प्रसंग कोट्याउँदै विल्सनले भनेकी छिन् ।

ट्रम्पले निकै घिनलाग्दो व्यवहार प्रस्तुत गरेको उनको आरोप छ । ‘राष्ट्रपतिले न घटनाको छानबिन गर्ने बताए, न त देशले डेभिडको उच्च सम्मान गर्ने वाचा नै गरे,’ ट्रम्पको भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘केका लागि आर्मीमा भर्ना भएको भन्ने उनलाई थाहा थियो । तर, जब यस्तो हुन्छ, तब दुख्छ ।’ ट्रम्प आरोप स्विकार्न तयार छैनन् । उनले भनेका छन्, ‘मैले स्वर्गीय डेभिड जोनसेनको नाम सुरुदेखि नै सम्मानजक रूपमा उच्चारण गरेको थिएँ ।’ ट्रम्पको आरोप थियो, ‘विल्सनले बनावटी कुरा गर्दै घटनालाई राजनीतीकरण गर्न खोजेकी छिन् ।’ तर, विल्सनको आरोपमा मृतक सैनिक डेभिड जोनसनकी आमाले सही थपिन् । उनले विल्सन आफूसँगै उपस्थित रहेको र उनले पूरै टेलिफोन–संवाद सुनेको प्रतिक्रिया दिइन् । यही कुरामा सैनिकपत्नी माइसिया जोनसनले समेत सही थपिन् ।

विरोधपछि ट्रम्पले खण्डनको नयाँ शैली अपनाए । ‘मैले कुनै गलत काम गरेको होइन । बरु, गल्ती त पूर्वराष्ट्रपतिहरूले गरेका थिए । बाराक ओबामाले सैनिक परिवारलाई फोन नै गरेनन् । नपत्याए जोन केलीलाई सोध्नुस्,’ यसअघि ओबामाको विषयमा नरम देखिएका ट्रम्प फेरि एकाएक तातिए ।बोल्ने पालो जोन केलीको आयो । ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केली पनि राष्ट्रपति ट्रम्पको प्रतिरक्षामा अघि सरे । अवकाशप्राप्त सैनिक अधिकारी केलीका छोराले सन् २०११ मा अफगानिस्तान युद्धमा ज्यान गुमाएका थिए । ‘राष्ट्रपतिले पीडित परिवारलाई सम्झिएका छन् । उनले भनेका कुरालाई बंग्याएर राजनीतीकरण गर्नु राम्रो हुँदै होइन ।

जब छोराछोरीले मृत्युवरण गरेपछि सैनिक अधिकारीहरूले शव प्याक गरेर बिहान घरको ढोकामा रिङ बजाउँछन्, त्यतिवेला बाबुआमालाई कस्तो पीडा हुन्छ भन्ने महसुस मैले गरेको छु,’ उनले भनेका छन्, ‘एउटा सैनिकले मात्रै सैनिक हुनुको सुख बुझ्छ । देशका लागि बलिदानी दिनुको मज्जा बुझ्छ, किनकि सैनिक सेवामा भर्ती हुँदा कुनै दिन मृत्यु हुन्छ भन्ने थाहा हुन्छ । तर, त्यो बलिदानी राष्ट्रका लागि हो । यस अर्थमा राष्ट्रपतिले बोलेका कुरालाई बंग्याएर राजनीतिक फाइदा लिन खोज्नु व्यर्थ छ,’ केलीले भनेका छन् ।

ट्रम्पको प्रतिरक्षामा उत्रिएका केलीले तत्कालीन राष्ट्रपति बाराक ओबामाको आलोचना गर्न भने बाँकी राखेनन् । ‘मेरो छोराका साथीहरूले अफगानिस्तानबाटै फोन गरेका थिए । तर, राष्ट्रपतिले न मलाई व्यक्तिगत रूपमा फोन गरे, न त कुनै पत्र नै पठाए,’ उनले भने । यस घटनापछि अमेरिकी राष्ट्रपतिहरू युद्धमा ज्यान गुमाउने सैनिकका विषयमा कति संवेदनशील छन् भन्ने बहस उचाइमा छ ।अफगानिस्तानमा मात्रै पछिल्ला १६ वर्षमा १ लाख ११ हजारभन्दा धेरैले ज्यान गुमाए । त्यसमध्ये ३१ हजारभन्दा धेरै सर्वसाधारण परेका छन् । ठूलो संख्यामा विद्रोही तथा अमेरिकी गठबन्धनमा सहभागी अन्य सहयोगी देशका सेनाको मृत्यु भएको छ । सन् २०१६ मा अमेरिकी रक्षा मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार यहाँ २ हजार ४ सयभन्दा धेरै अमेरिकी सैनिकको ज्यान गएको थियो । इराकमा सन् २०१६ को जुनसम्म मात्रै ४ हजार २ सय २४ अमेरिकी सेनाको मृत्यु भयो । त्यतिवेलासम्म युद्धका क्रममा ३१ हजारभन्दा धेरै अमेरिकी सैनिक घाइते थिए । इराक युद्धमा ज्यान गुमाउने सर्वसाधारण तथा विद्रोहीहरूको संख्या त ४ लाखभन्दा बढी छ ।

इराक र अफगानिस्तान युद्धले मात्रै नपुगेर अमेरिकाले अहिले सिरियामा समेत युद्ध लड्दै आएको छ । सिरियामा युद्धका कारण ४ लाखभन्दा धेरैले ज्यान गुमाएका छन् । धेरै अंगभंग भएका छन् । धेरैले घरबार छाडेका छन् । ‘आतंकवाद अन्त्य’ गर्ने बहानामा सुरु भएको युद्धको घानमा ती देशमा सर्वसाधारण त परेकै छन्, अमेरिकी सेनासमेत सुरक्षित छैनन् ।

इतिहासदेखि नै बहस
सैनिक परिवारको विषयलाई लिएर विवादमा तानिने ट्रम्प एक्लो राष्ट्रपति होइनन् । १९औँ शताब्दीमै यो विवाद सुरु भएको थियो, जतिवेला अमेरिका गृहयुद्धमा थियो ।सन् १८६० मा दासप्रथा उन्मूलन गर्ने एजेन्डा लिएर चुनावमा होमिएका अब्राहम लिंकन विजयी भएपछि अमेरिकी समाज विभाजित भएको थियो । उनले शपथ लिनुअगावै दक्षिणतर्फका सात राज्यले मिलेर ‘कन्फेडेरेट अफ अमेरिका’ नामको नयाँ देश खडा गरे । अफ्रिकन तथा अफ्रो–अमेरिकनहरूलाई किनेर दास बनाउन तथा बिक्री गर्न पाउने वैधानिक कानुनी व्यवस्था खारेज गर्ने लिंकनको योजनाको विरोधमा उनीहरू एकढिक्का भएका थिए ।

यसपछि सुरु भएको गृहयुद्धमा कम्तीमा ६ लाख २५ हजारले ज्यान गुमाए । अमेरिकी राष्ट्रपति अब्राहम लिंकन युद्धको समयमा सैनिक क्याम्पनजिक कुटी बनाएर बस्ने गरेका थिए । उनी धेरैपटक घाइते सैनिक तथा सर्वसाधारणलाई भेट्न सैनिक अस्पताल जाने गरेका थिए।

त्यतिवेला उनले बोस्टनकी लाइडिया बिक्सबाईलाई लेखेको पत्र अहिले पनि विवादमा छ । बिक्सबाई त्यस्ती महिला थिइन्, जसका ६ मध्ये पाँच छोरा सिपाहीमा थिए । ‘युद्ध विभागको फाइलमा रहेको जनरल अफ मासाचुसेट्सको विज्ञप्तिमा उल्लेख भएअनुसार तपार्इं त्यस्ता पाँच छोराकी आमा हुनुहुन्छ, जसले युद्धभूमिमा ज्यान गुमाएर प्रसिद्धि कमाए । मलाई थाहा छ कति कमजोर र स्वादविहीन हुनेछन् मेरा कुनै पनि शब्दहरू, जसले तपाईंलाई तपाईंका छोराहरूको निधनप्रति साहनुभूति प्रकट गर्ने प्रयास गरेको छ । यो गणतन्त्रको रक्षाका लागि ज्यान गुमाउने तपाईंका छोराहरू धन्य छन्,’ लिंकनले लेखेको यो पत्र न्युयोर्क टाइम्सको १८६४, नोभेम्बर २६ को पहिलो पृष्ठमा प्रकाशित छ ।

यसपत्र लेखेको ५ महिना नबित्दै अब्राहम लिंकनको जित भयो । १९६५, ९ अप्रिलमा कन्फेडेरेटले आत्मसमर्पण ग¥यो । ६ दिनपछि हारको झोकमा कन्फेडेरेटतर्फका एक व्यक्तिले लिंकनमाथि गोली हाने । लिंकनको मृत्युको ६० वर्षपछि यस पत्रबारे न्युयोर्क टाइम्सले नै नयाँ खुलासा गर्‍यो ।

बिक्सबाईका नाति बिलियम ए बिक्सबाईले सन् १९२५ मा यस पत्रबारे न्युयोर्क टाइम्सलाई अन्तर्वार्ता दिएका थिए । उनले आफ्नी हजुरआमाले पत्र बुझेपछि के गरिन् भन्ने विषयमा केही जानकारी नभएको प्रतिक्रिया दिए । न्युयोर्क टाइम्सले विलियमकी बहिनी जर्ज एम टावर्ससँग पनि कुराकानी गरेको थियो । उनले हजुरआमाले झोकमा पत्र च्यातेको हुन सक्ने प्रतिक्रिया दिएकी थिइन् । सैनिकमा जागिरे रहेका बिक्सबाईका पाँच छोरामध्ये कम्तीमा पनि दुईजना लिंकनले पत्र लेख्दाको समयमा जीवित रहेको टावर्सको भनाइ थियो । बाँकी दुई छोराको मृत्यु युद्धमा भएको थियो भने सैनिकमा रहेका अर्का एक छोरा बेपत्ता भएका थिए ।

यस विषयमा न्युयोर्क टाइम्सले सन् १९३३ मा सम्पादकीय लेख्दै लिंकनका तत्कालीन सेक्रेटरी जोन हायले पत्र लेखेको हुन सक्ने आशंका गरेको थियो । जुलाई २०१७ मा यसबारे अर्को अनुसन्धान भयो । लिपिको फेरेन्सिक जाँचपछि तयार पारिएको अनुसन्धानमा यो पत्र सेक्रेटेरी हायले नै लेखेको उल्लेख छ ।

लिंकनबाट त कमजोरी मात्रै भएको थियो । गल्ती त रोनाल्ड रेगन, जिमी कार्टर र जर्ज बुस (जर्ज डब्ल्यु बुस) का पिताले गरेका थिए । रिचर्ड निक्सनकै योजना र निर्देशनमा सेनाले भियतनाममा धावा बोलेको थियो । भियतनाम युद्धबाट हजारौँ अमेरिकी सैनिक घाइते भएर फर्किए । थुप्रैले ज्यान गुमाए । तर, निक्सन कहिल्यै अस्पतालमा छट्पटाइरहेका सैनिकहरूलाई भेट्न गएनन् । सन् १९६६ र १९६७ मा भियतनाम भ्रमणमा जाँदा भने उनले त्यहाँका अस्पतालमा रहेका सैनिकहरूलाई भेटेका थिए । जिमी कार्टर र जर्ज एचडल्ब्यु बुसको कार्यकालमा भएका भ्रमणहरूको सूची हेर्दा उनीहरूले सैनिक अस्पताल भ्रमण गरेको देखिँदैन । जबकि उनीहरूको समयमा पनि अमेरिका युद्धमै थियो ।

जर्ज एचडब्ल्यु बुसका छोरा जर्ज डब्ल्यु बुस भने अन्य राष्ट्रपतिको दाँजोमा इमानदार देखिन्छन् । उनले राष्ट्रपति छँदा नियमित रूपमा घाइते सैनिक र मृतक परिवारसँग भेट्ने गरेका थिए । राष्ट्रपतिबाट अवकाश पाइसकेपछि पनि मृतक तथा सैनिक परिवारसँग नियमित सम्पर्कमा रहने परम्पराको थालनी गरे । राष्ट्रपति छँदा बाराक ओबामाले पनि सैनिक परिवारलाई भेट्ने गरेका थिए ।

ट्रम्पको सैनिक टकराव
राष्ट्रपति ट्रम्प अमेरिकी सैनिकहरूप्रति अनुदार देखिएको यो पहिलो अवसर होइन । उनी पटक–पटक सेनाका विषयमा कठोर अभिव्यक्ति दिन्छन् । गत फेब्रुअरीमा यमनमा ३६ वर्षीय सैनिक विलियम रायन ओवेन्सको मृत्यु भएको थियो । तर, ट्रम्पले यस घटनाको जिम्मेवारी लिनुको सट्टा उल्टै सैनिक अधिकारीहरूको दोष देखाए ।

राष्ट्रपति हुनुअगावै ट्रम्पले सैनिकलाई चिढ्याउने काम गरेका थिए । एक अन्तर्वार्तामा उनले ‘युद्ध बन्दी नबनेका सैनिकहलाई मात्रै हिरो मान्ने’ बताएका थिए । चुनावी अभियानकै दौरान आफ्नो नीतिको विरोध गर्ने एक मुस्लिम सैनिकको परिवारलाई ट्रम्पले गाली दिए । हिलारी क्लिन्टनको पक्षमा देखिएका मृतक सैनिक परिवारका ख्रिर्ज खानले ‘इस्लामफोबिया’ त्याग्न ट्रम्पलाई आग्रह गरेका थिए । उनले सबै मुस्लिमलाई राष्ट्रद्रोही नदेख्न आग्रह गरेका थिए ।

सैनिक परिवारसँगको फोन–संवादलाई लिएर आलोचित भएपछि ट्रम्प अहिले केही रक्षात्मक देखिएका छन् । उनले अफगानिस्तानमा छोरा गुमाएका क्रिस बालरिज्डलाई २५ हजार डलर व्यक्तिगत सहयोग दिएका छन् । अफगानिस्तानमा गोली लागेर मरेका क्याप्टेन डिलन बालरिज्डको परिवारलाई २५ हजार डलर दिने घोषणा ट्रम्पले गत अगस्टमै गरेका थिए । ‘मलाई आशा छ, यसले केही सहज बनाउनेछ । तर, तपाईंको छोरा डिलनलाई केही कुराले पनि फर्काउन सक्नेछैन । उनी अमेरिकी हिरो थिए,’ बालरिज्डलाई ट्रम्पले लेखेको पत्रमा उल्लेख छ ।
– एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्