सुहाङलाई भोट माग्दै ओलीले भने–उद्देश्य बोकेर हिंडेका वास्तविक उम्मेदवार हुन्

‘चुनाव नजित्दा सुहाङलाई घाटा पर्दैन, इलामलाई घाटा पर्नेछ’


५ बैशाख २०८१, बुधबार
kp oli suhang

इलाम । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम–२ मा वैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भएका छन् । बुधबार इलाम–२ को मंगलबारेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पुर्खाले स्वाधीन राखेको देशलाई सम्मान गर्ने बताएका छन् । उनले देशलाई एकताबद्ध बनाएर सुशासन र विकास ल्याउन चाहेको बताएका छन् ।

सुहाङको प्रशंसा गर्दै ओलीले गन्तव्य र उद्देश्य बोकेर अगाडि बढेको युवा भएको बताए । ओलीले सुहाङ वास्तविक उम्मेदवार भएको बताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार बनेका सुहाङ नेम्वाङले जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताएका छन् । उनले इलामका जनताले आफ्ना बुवामाथि गरेको विश्वासलाई शीरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अध्यक्ष ओलीले इलामको उपनिर्वाचनमा धेरै पैसा खर्च नगर्न प्रतिस्पर्धी दललाई सुझाव दिएका छन् । इलाममा सत्ता गठबन्धनका साझा उम्मेदवार सुहाङले जित्ने उनले दाबी गरे ।

kp 1

अध्यक्ष ओलीले सुवास नेम्वाङले पटक–पटक चुनाव जितेको क्षेत्रमा जनता झुक्याउन नभई विकासको एजेण्डा लिएर आएको बताएका हुन् । ‘हामी जनता छक्याउन आएका होइनौं, हामीलाई जनता अल्मल्याउनु र ढाँट्नु छैन । सिंगार पटार गरेर आउनु पर्ने छैन’, ओलीले भने । इलामबाट निर्वाचित प्रतिनिधिले देशलाई संविधान दिने काम गरेको र पिताश्रीले अगाडि बढाएको अभियानलाई निरन्तरता दिनको लागि सुहाङ आएको उनले बताए । ‘ठेक्का पट्टामा कमिसन खाएर पैसा कमाउन आएको होइन, महिनामा २-४ लाख वकालत गरेर कमाउने सामर्थ्य सुहाङसँग छ’, ओलीले भने, ‘चुनाव नजित्दा सुहाङलाई घाटा पर्दैन, इलामलाई घाटा पर्नेछ ।’

विगतमा आउँदा सुवास नेम्वाङसँग मञ्चमा बस्ने गरेको स्मरण गर्दै ओलीले भने, ‘यहाँ आज मैले बोलेको कुरा हजारको नोटमा लेखेको तुरुन्त भुक्तानी हुनेछ भने जस्तै हो, सुहाङको ग्यारेन्टी म लिन्छु । नोटमा लेखेको जस्तै मैले बोलेको कुराको भुक्तानी दिनेछु ।’ इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७