अपराजित नेपाल साउदीलाई हराउँदै सेमिफाइनलमा


५ बैशाख २०८१, बुधबार
semi

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पारेको छ । समूह ‘ए’ अन्तर्गत अल अमेरातमा बुधबार भएको खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको हो ।

यससँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलको यात्रा तय गरेको छ । यस समूहबाट हङकङले पनि अन्तिम चारको यात्रा सुनिश्चित गरेको छ । बुधबारको खेलमा साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य नेपालले ७ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा गुल्सन झाले ३२ रन, कप्तान रोहित पौडेलले १६ रन तथा दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए । साउदी अरेबियाका लागि इश्तियाक अहमदले २ तथा वाजी उल हसन र उस्मान नजिबले १–१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले तय गरिएको ८ ओभरमा ७ विकेट गुमाएर ७३ रन बनायो । साउदी अरेबियाका लागि अब्दुल वाहिदले ३७ रन बनाए । नेपालका लागि करण केसी र अविनाश बोहराले २–२ तथा प्रतिश जिसी र ललित राजवंशीले १–१ विकेट हात पारे ।

समूह ’ए’ कै अर्को खेलमा हङकङले मलेसियालाई ७ विकेटले पराजित गर्‍यो । जितका लागि चाहिएको १ सय ४१ रनका लक्ष्य हङकङले १२ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । यसअघि मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७