आङ सान सुकीलाई जेलबाट निकालेर घरमा राखियो नजरबन्द


५ बैशाख २०८१, बुधबार
suki 1

काठमाडौं । म्यानमारकी नेता आङ सान सुकीलाई सेनाले जेलबाट सारेर नजरबन्दमा राखेको छ । समाचार संस्था एपीका अनुसार गर्मी बढेका कारण सुकीलाई जेलबाट छाडिएको हो । म्यानमार सेनाका प्रवक्ता एवं मेजर जनरल ज मिन टुनले अत्यधिक गर्मी बढेकाले उनलाई छाडिएको बताएका छन् । यद्यपि उनलाई नजरबन्दमा राखिएको छ ।

सुकीलाई म्यानमारको राजधानी नेपिडमा रहेको मुख्य कारागारमा राखिएको थियो । जहाँ मंगलबार साँझको तापक्रम ३९ डिग्री सम्म पुगेको थियो । म्यानमारको परम्परागत नयाँ वर्षको अवसरमा ३ हजार बढी कैदीहरूलाई माफी समेत दिइएको एपीले जनाएको छ । ७८ वर्षीया सुकी विभिन्न मुद्दामा २७ वर्षको जेल सजाय काटिरहेकी थिइन् । जेलमा रहँदा उनको स्वास्थ्य अवस्था खराब हुँदै गएको एपीले जनाएको छ। गत वर्ष सेप्टेम्बर उनमा रक्तचाप, खानाको अरूचि, झमझम हुने लगायतका स्वास्थ्यका समस्या देखिएको थियो ।

सुकीसँगै ७२ वर्षीय पूर्वराष्ट्रपति विन मिन्टलाई पनि जेलबाट सारिएको थियो । पूर्व राष्ट्रपति मिन्टले भने ८ वर्षको जेल सजाय काटिरहेका थिए । सुकीका समर्थकहरूले उनीमाथि झुटा आरोप लगाएर जेलमा राखेको दाबी गर्दै आएका छन् । सेनाले भने सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीले सन् २०२० को आम निर्वाचनमा जित्न धाँधली गरेको आरोप लगाएको छ । सेनाले सन् २०२१ यता सत्ता कब्जा गरेयता २० हजार ३५१ जना मानिसहरूलाई राजनीतिक मुद्दामा पक्राउ गरको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७