विराटनगरमा दुई समूहबीच झडप हुँदा १० जना घाइते : हवाइफायर र अश्रुग्यास प्रहार


५ बैशाख २०८१, बुधबार
jhadap biratnagar

मोरङ । मोटरसाइकल दुर्घटनाको विषयलाई लिएर विराटनगर–१२ रानी क्षेत्रमा दुई समूहबीच झगडा हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । केही दिनअघि भएको मोटरसाइकल दुर्घटनाको विषयलाई लिएर दुई समूहबीच झडप भएको हो । गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच पुरानो रिसईबीलाई लिएर दोहोरो झडप भएको मोरङ प्रहरीले जनाएको छ । विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको हो ।

स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । स्थानीयबासीका अनुसार विराटनगरको वडा नम्बर १५ र १७ को बीचमा एउटा समूहले र्‍यालीलाई अवरोध गरेपछि विवाद बढेको थियो । अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ ।

झडपमा गम्भीर घाइते भएका राजकुमारको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार अन्य घाइतेको कोशी अस्पतालमा उपचार भइरहेको छ । दोहोरो कुटाकुटमा राजवंशीतर्फका अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका छन् । कामततर्फका राजकुमारसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएको प्रहरीले जनाएको छ ।

स्थानीय जितनारायण राजवंशी र राजीव राजवंशी बजारबाट घरतर्फ फर्कंदै गर्दा मंगलबार साँझ राजकुमार कामतको घरअगाडि पुगेपछि दुई पक्षबीच विवाद भएको थियो । घटना थाहा पाउने बित्तिकै पुगेको प्रहरीले दुवै पक्षलाई सम्झाएर पठाए पनि पछि उनीहरूबीच पुनः झडप भएको प्रहरीले जनाएको छ ।

केही दिनअघि दिनेश कामतले चलाएको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएको थियो । त्यस समयमा दिनेशमाथि कुटपिट भएको थियो । दुर्घटनाका विषयमा प्रहरीमा मिलापत्र भइसकेको थियो। झडपमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७